दमकमा हास्य कलाकारहरूको बेजोड प्रस्तुती



१ असोज, दमक।
झापाली हास्यकलाकार तथा गायक राजा राजेन्द्र पोखरेलको प्रस्तुती देखेर झापालीहरु लठ्ठिएका छन् । रुस्लान हास्यब्यङ्ग्य यात्राको क्रममा सोमबार बिर्तामोड र मंगलवार दमकमा उनको प्रस्तुतीबाट दर्शकहरु लठ्ठ परेका हुन् ।

स्टेजमा उद्घोषकको रुपमा देखा परेपनि उनले समयको सदुपयोग गर्दै आफ्ना प्रस्तुतिहरु दिएका थिए । चर्चित हास्य टेलिश्रृङ्खला 'मेरी बास्सै' मा चौरासी बा (सुशील कोइराला)को अभिनय गरेर चर्चाको शिखरमा पुगेका राजा राजेन्द्र झापाली भएको भनेर कमैले मात्र थाहा पाएकोमा उनले दुःख पनि ब्यक्त गरे । उनले भने, 'झापाकाले उताको देख्ने र उताकाले यताको देखेको भान हुन्छ ।' गीत संगीतमा देखिएको बिकृती र नेताहरूको कार्यशैलीलाई ब्यङ्ग्य गर्नसमेत उनी पछि परेनन् । पोखरेलले प्रधानमन्त्री सुशील कोइराला, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा, काँग्रेस नेता रामचन्द्र पौडेल, एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूको गीत गाउँदाको प्रतिस्पर्धाले सबै दर्शकको मन छोएको थियो ।



पोखरेलले झापालीहरूसँग दुखेसो पनि गरेका छन् । यहाँ हुने महोत्सव तथा साँस्कृतिक कार्यक्रमहरूमा आफूलाई नबोलाउने गरेको र बाहिर भने जानसमेत समय मिलाउन भ्याइनभ्याई भएको बताएका थिए । उनले भने, 'नजीकको तीर्थ हेला भएजस्तो सायद मलाई हेला भएको होला ।'
दमकमा लाइन्स क्लव अफ दमक माउण्ट एभरेष्टले आयोजना गरेको रूस्लान हास्यब्यङ्ग्य यात्रामा आरपी भट्टराई (राजाराम), मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) र रिना गिरीको प्रहसन, बिष्णु सापकोटा र जानुका केसी श्रेष्ठको बिशेष प्रहसन देखाइएको लाइन्स क्लव अफ दमक माउण्ट एभरेष्टका अध्यक्ष अजय अग्रवालले बताए। मानवीय सेवाका लागि कोष बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।






फोटो - अजय अग्रवाल

Comments