२९ भदौ, दमक ।
बेग्लाबेग्लै घटनामा झापामा एक वृद्ध र एक बालकसहित ४ जनाको ज्यान गएको छ । ती घटनामा एक बालिका घाइते भएकी छिन् ।
जुरोपानी ८ मा चट्याङले लागेर गएराति एकै घरका हजुरबुवा र एक नातीको मृत्यु भएको छ ।
घरमा सुतिरहेको अवस्थामा मध्यराति १२ बजेतिर परेको चट्याङ्ले ७३ बर्षिय धने सोरेनको घटनास्थलमै र ११ बर्षिय नाती अनिलको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । चट्याङ लागी घाइते भएकी मृतक वृद्धकी १५ बर्षिया नातिनी बविताको भने लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । उनको अवस्थामा समान्य रहेको अस्थायी प्रहरी चौकी जुरोपानीले जनाएको छ ।
यता पूर्व पश्चिम राजमार्गअन्तर्गत लखनपुर १ मा शनिबार साँझ पिक अप भ्यानले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ ।
साँझ साढे ७ बजेतिर पश्चिम आउँदै गरेको को १ च ७४७९ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा हाल परिचय नखुलेकी अन्दाजी ५० बर्षीया एक महिलाको ज्यान गएको हो ।
भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी उनको लाइफलाइन अस्पताल दमकमा उपचारको क्रममा साँझ ८ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
ठक्कर दिने पिकअप भ्यान र चालक मोरङ्ग बेलबारी ९ का नारायण गुरुङ्गलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको जनाइएको छ ।
उता कुमरखोद ६ स्थित माईखोलाको बगरमा एक पुरुषको शव फेला परेको छ ।
शनिबार खोलाको बगरमा सडिगलेको अवस्थामा घोप्टो परेर लडिरहेको अपरिचित एक पुरुषको शव स्थानियले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
घटनास्थलमा खटिएको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरेको छ भने शवको पहिचान एवं अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ ।
Comments
Post a Comment