ट्याक्टरले बाटो बिगारे, सर्वसाधारणलाई हैरानी





तेजन खड्का,
१४ असोज, उर्लाबारी।
असोज दोस्रो साता सुरु भएलगत्तै भएको वर्षाका कारण मोरङको उर्लाबारी-राजघाट-सिजुवा कृषिसडकको आम्बारी भोटेपुल, इन्द्रेझोडा खण्ड मर्मत नहुँदा त्यस क्षेत्रका हजारौं सर्वसाधारण मारमा परेका छन् । सडक मर्मत सम्भार नहुँदा गाडी सञ्चालन हुन छोडेको छ । जसको कारण दशैंको मुखमा सर्वसाधारण मारमा परेका हुन् ।
'सडकको ठाउँठाउँमा खाल्डाखुल्डी र हिलाम्मे भएका कारण बाटोमा एम्बुलेन्स, बस लगायतका सवारीसाधन सञ्चालन भएका छैनन्', स्थानीय मानु थापाले बताए।
कृषि सडकमा सिजुवाबाट उर्लाबारीसम्म चल्ने आधा दर्जन यात्रुबाहक बससहित सयौं साना ठुला सवारी साधन सञ्चालन हुने गर्छन् । खासगरी निर्माण सामग्री बोकेर रातभर चल्ने ट्याक्टरका कारण कृषि सडक हिलाम्मे भएको सर्वसाधारणको भनाई छ ।




दिनमा गिट्टी वालुवाको निकासी बन्द भएपछि ब्यवसायीहरू रातारात मावा खोलाबाट बालुवा, गिट्टी र माटो निकाल्दै उपभोक्ताकहाँ पुर्‍याई दिन्छन् । ट्याक्टरको बत्ती बाल्दा प्रहरीले दुःख दिने गरेकोले बत्तीसमेत निभाएर वालुबा निकासी गर्ने गरेको उर्लाबारी ३ का गणेश दाहालले बताए । उनका अनुसार राती ५० वढी ट्याक्टरले खोलामा बत्ती निभाएर बालुवा निकाल्छन् । प्रहरीले देखे पनि वास्ता गर्दैन । जसले गर्दा ग्रामीण सडकहरू चौपट्टै विग्रिएको स्थानीय सरोकारबालाको भनाई छ ।
'ट्याक्टरले सडक बिगारिदिए पछि यहाँको धेरैजसो ठाउँमा बस पल्टिएला जस्तै हुन्छ', राजघाट इन्द्रेझोडाका वासु ढुङ्गानाले भने, 'बसमा चढ्ने यात्रुहरु मरिन्छ कि भन्ने त्रासमा हुन्छन् ।'
स्थानीयवासीले श्रमदान गरेर ५० फुट चौडा बनाएको बाटो हिलाम्मे र खाल्डाखुल्डी भएपछि विद्यालयका गाडीहरु पनि सञ्चालनमा नआएको मोरङ राजघाट-७ का रामबहादुर खड्काले बताए । पिचरोड नहुँदा स्थानीयले वर्षेनी यस्तै समस्या भोग्दै आएको खड्काले सुनाए ।
नेताहरुले चुनाब आउँदा बाटो पिच बनाउने आश्वासन दिँदै भोटको खेती गरेको स्थानीयको दुखेसो छ । स्थानीय बृद्धा हरिमाया प्याकुरेल भन्छिन्, 'बाटो पिच नहोला जस्तो छ, यो बाटो पिच बनाउन कोही अग्रसर भएनन् ।' चुनाव जितेपछि नेताहरुले गरेको बाचा विर्सने गरेको प्याकुरेलले बताइन् ।
विद्यार्थीहरु पनि हिलाम्मे भएर विद्यालय पुग्ने गरेका छन् । बाटो तत्काल मर्मत सम्भार नगरिए ठुलो दुर्घटना निम्तने खतरा रहेको स्थानीय वासिन्दाको भनाई छ ।
मोरङ क्षेत्र नम्बर १ का सभासद ऋषिकेश पोखरेलले बाटोलाई राष्ट्रिय योजनामा पार्न आफू सक्रिय रहेको बताएका छन् । सभासद पोखरेलले संविधान निर्माण पहिलो प्राथमिकता भएको दोहोर्‍याउँदै संविधान निर्माण भएपछि विकासको लहर चल्ने बताए ।



Comments