धेरै जेल भन्दा धेरै पुस्तकालय भएको देश राम्रो - मन्त्री यादव





गोविन्द पोख्रेल,
४ असोज, उर्लाबारी ।
शिक्षा मन्त्री चित्रालेखा यादवले समाजलाई अगाडि बढाउने युवा पुस्तासँग उचित मात्रामा ज्ञान नहुञ्जेलसम्म देशको विकास असम्भव रहेको बताएकी छिन् ।
उनले कुल जनसंख्याको ४० प्रतिशत रहेको १७ देखि ४० बर्ष उमेर समूहका युवाशक्ति नै देश विकासका मूल वाहक रहेको उल्लेख गरिन् ।
भिजन फाउण्डेसन नेपालद्वारा सञ्चालित उर्लाबारी सार्वजनिक पुस्तकालयको शनिबार उद्घाटन गर्दै मन्त्री यादवले उक्त कुरा बताएकी हुन् ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी मन्त्री यादवले भनिन्, 'धेरै पुस्तकालय भएको मुलक एक असल राष्ट्रको रुपमा चिनिने तर धेरै जेल भएको राष्ट्रलाई एक खराब राष्ट्रका रुपमा चिनिने हुँदा भिजन फाउण्डेसनका अध्यक्ष सहितका पदाधिकारीहरुले असल राष्ट्र निर्माणका लागि गरेको यो प्रयास युवाहरुलाई उर्जा हुनेछ ।' उनले पुस्तकालयका लागि आफ्नो व्यक्तिगत तर्फबाट केही दिनभित्रमा नै पुस्तकहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् ।



कार्यक्रममा शैक्षिक क्षेत्रबारे बोल्दै मन्त्री यादवले भनिन्, 'अस्थायी शिक्षकहरुलाई उचित व्यवस्थापन गर्नका लागि शिक्षा मन्त्रालयले स्पष्ट, उचित मार्गचित्र सहितको शिक्षा ऐनलाई निष्कर्षमा पुर्‍याउनका लागि सम्बन्धीत निकायहरुसँग छलफल जारी रहेको छ।' उनले केही दिनभित्रमा नै ऐनलाई संसदमा पेश गरिने तयारी भइरहेको बताइन् ।
विद्यमान राजनैतिक अवस्थाबारे बोल्दै मन्त्री यादवले भनिन्, 'संक्रमणकालीन अवस्थामा गुज्रिरहेको देशमा अहिले नेपाल सरकारको प्रमुख प्राथमिकता संविधान निर्माण रहेको र सरकार जुनसुकै हालतमा पनि संविधान निर्माण प्रक्रियामा बाधक हुँदैन ।'
सम्पूर्ण नेपाली जनातालाई मान्य हुने संविधान ल्याउनका लागि यो सरकार प्रतिबद्ध रहेको र 'सहमति'मै संविधान जारी हुनेमा सबैलाई ढुक्क हुन मन्त्री यादवले आग्रह गरिन् ।
कार्यक्रमका विशिष्ठ अतिथि मोरङ क्षेत्र नम्बर ९का सभासद डिगबहादुर लिम्बूले आधुनिक प्रविधिको उचित फाइदा उठाउँदै फाउण्डेसनले सञ्चालन गरेको पुस्तकालयमा 'इलाइब्रेरी'को समेत सुविधा हुँदा अरुलाई प्रेरणाको स्रोत हुने बताए। उनले भने, 'नविन विचारका साथ युवाहरुले सञ्चालनमा ल्याएको पुस्ताकालयले नविन सोचको विकास अवश्य गर्नेछ ।'
कार्यक्रममा भिजन फाउण्डेसन नेपालका अध्यक्ष राजु लामाले पुस्तकालयको दीर्घकालीन सञ्चालनका निम्ति सरकारको तर्फबाट आवश्यक सरसहयोग जुटाउन मन्त्री यादवलाई ज्ञापन-पत्र बुझाएका थिए ।
पुस्ताकालय परिसरमा आयोजित सो कार्यक्रममा मोरङ जिल्ला शिक्षा अधिकारी दिनेश श्रेष्ठ, नेपाल जेसीसका पूर्वअध्यक्ष भुलेश्वर दुलाल, उर्लाबारी नगर विकास समितिका अध्यक्ष केशव कार्की, उद्योग वाणिज्य संघ उर्लाबारीका अध्यक्ष धर्मराज शाक्य, मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालका बरिष्ठ उपाध्यक्ष रोमनाथ ओली, विभिन्न विद्यालयका प्राध्यापकहरु, सुरक्षा निकायका उर्लाबारी प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।
मिश्र वैजन्तीले सञ्चालन गरेको कार्यक्रममा भिजन फाउण्डेसनका अध्यक्ष लामाले शिक्षा मन्त्री चित्रालेखा यादव र मोरङ ९ का सभासद डिगबहादुर लिम्बूलाई मायाको चिनो प्रदान गरेका थिए ।





Comments