'संविधान सभाको नियत खराव'







१ असोज, पथरी ।
किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष यसोदा राईले पूर्वी पहाडी जिल्लाहरुमा किरात स्वायत्त राज्यको विकल्प नभएको बताएकी छिन् ।
यायोक्खा केन्द्रीय अध्यक्ष राईले संविधानसभाको नियत खराबी भएको आरोप लगाउँदै पहिचान सहितको संघीय राज्यको पक्षमा संविधान सभा नदेखिएको आरोप लगाइन् । पहिलो संविधानसभा आदिवासी जनजाति लगायतका उत्पीडित जातजातिको पक्षमा रहेको दाबी गर्दै त्यसबेला प्रक्रियामा नलाने र पहिचानको विपक्षमा बलियो देखिएको दोस्रो संविधानसभामा प्रक्रियाको कुरा उठ्नु नियतमै खोट देखिएको अध्यक्ष राईको आरोप थियो ।

संविधानसभा भित्र र राजनीतिक दलहरुमा राज्य पुनः संरचनाको बारेमा चर्को बहस भइरहेको बेला जिल्ला भ्रमणमा निस्केको राई समुदायको सर्वोच्च सामाजिक साझा तथा स्वतन्त्र संगठन यायोक्खा टोली बुधबार मोरङ आइपुगेको हो।



किरात राई समुदायका अगुवा नेता कार्यकर्ताहरु सहभागि रहेको कार्यक्रममा यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलक राईले खम्बुवान र लिम्बुवान किरात स्वायत्त राज्य वैज्ञानिक, ब्याबहारिक हुने तर्क प्रस्तुत गर्दै धैर्यताका साथ जनमत सिर्जनामा लागिरहनुपर्ने बताए। उपाध्यक्ष राईले यायोक्खा खम्बुवान र लिम्बुवान उपस्वायत्त क्षेत्र सहितको किरात स्वायत्त राज्यको पक्षमा रहेको तथा चार किरात (राई, लिम्बू, याक्खा र सुनुवार)ले किरात स्वायत्त राज्यको बारेमा समन्वयत्मक भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।
यायोक्खा मोरङका अध्यक्ष नवीन राईको सभापतित्वमा भएको कार्यक्रममा संगठनका उपमहासचिवद्वय शंकर साम्पाङ, दिवस कोयु, केन्द्रीय सदस्य सदर राई, तिलक राईको समेत उपस्थिति रहेको थियो । देश दौडाहामा निस्किएको यायोक्खा टोली, ताप्लेजुङ, पाँचथर, इलाम, झापा हुँदै बुधबार विहान मोरङ र दिउँसो सुनसरीमा कार्यक्रम राखिएको केन्द्रीय उपमहासचिव तथा प्रचार विभाग प्रमुख दिवस कोयुले जानकारी दिए । टोली यायोक्खाको संगठन रहेको सम्पूर्ण जिल्लाहरुमा जाने बताइएको छ ।
यायोक्खा र सम्बद्ध भातृ संगठनहरुले पूर्वी पहाडी जिल्लाहरु सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, भोजपुर, संखुवासभा, धनकुटा, सुनसरी, मोरङ, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, झापा र रामेछाप, दोलखा, सिन्धुली जिल्लाका किराती बस्तीहरु मिलाएर बृहत किरात स्वायत्त राज्यको प्रस्ताव गर्दै आएका छन् ।



Comments