जुवाडे समात्न गएको प्रहरी उल्टै सलाम गरेर फर्कियो

तेज बन विश्वासी, २९ भदौ, सुनसरी । नेपालीमा एक उखान छ 'ठुलालाई चैन सानालाई ऐन', यो उखान यहाँ दुरुस्तै मिल्न गएको छ । मोरङको विराटनगरस्थित एक मेलामा खुलेआम तास खेलिरहेको समुहलाई पक्राउ गर्न गएका प्रहरीहरु उल्टै उनीहरुलाई नै सलाम गरेर फर्किएका छन् । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले बिराटनगरस्थित डाउनटाउन क्लव परिषरमा लगाएको मेलामा शनिवार साँझ तास खेलिरहेको सूचना पाएलगत्तै पुगेको मोरङ प्रहरीको टोलीले त्यहाँ पुगेपछि तासेहरुलाई पक्राउ गर्नुका सट्टा उल्टै सलाम गरेर फर्किएको स्थानीयहरुले बताएका छन्। मेला अवलोकन गर्न गएका एज व्यक्तिले भने, 'हामीले यस्तो त कहिल्यै देखेका थिएनौं, आज देख्यौं ।' तास खेलिरहेको सूचना पाएलगत्तै पक्राउ गर्नका लागि मोरङ प्रहरीबाट असई तुलसी श्रेष्ठको नेतृत्वमा प्रहरीहरु खटाइएको थियो तर सो स्थानमा तास खेलिरहेकामध्ये १ जनाले आफ्नो भिजिटिङ कार्ड देखाएपछि उल्टै सलाम ठोकेर फर्किएको प्रहरीबाटै खुलेको छ । पछिबाट पुनः पक्राउ गर्न प्रहरीको टोली त्यस स्थानमा पुग्दा तासेहरु नरहेको पनि मोरङ प्रहरीले जनाएको छ । तास खेल्नेमध्ये १ जना विशिष्ट ब्यक्ति रहेको र रमाइलोको लागि मात्र खेलेको बताएपछि उनीहरुलाई पक्राउ नगरेको असइ तुलसी श्रेष्ठले बताए पनि सो बिशिष्ट ब्याक्ति को हुन् भन्ने बारेमा भने उनले केही बोलेनन् । यता क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रवक्ता प्रभु ढकालले भने घटना रहस्यमय रहेको र यसको विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।

Comments