७ बर्षिय एक प्रतिभाशाली बालक जो आश्चर्यजनक काम गर्छन्


नरेन्द्र बस्नेत, मोरङ
एउटा ७ बर्षको बालकले केसम्म गर्ला ? चकचक गर्ला, रुँदैरुँदै विद्यालय जाला आउला, आफ्ना बा आमालाई सताउला अनि बढि से बढी विद्यालयमा राम्रो अंक ल्यायो भने बाआमालाई दंग बनाएर आफुलाई मन पराएको सबै बस्तु किन्न लगाउला । तर हामीले यति मात्र सोच्यौँ भने त्यो सरासर गलत हुनेछ । किनकी मोरङको पथरीका ७ बर्षीय बालक पंकज सापकोटा कसैले सोच्नसम्म नसकेको काम गरेर सबैलाई चकित पार्ने गरेका भएका छन् ।

बि.स २०६३ साल साउन ३१ गते मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा जन्मिएका सापकोटा स्थानीय एभरेष्ट बोर्डिंग स्कुलमा कक्षा ३ मा अध्ययन गर्छन् । उनी पढनमा तेज त छँदैछन्, त्यसमाथि उनले देखाउने कला त अझै आश्चर्यजनक नै छ ।

-->

उनी पढाइका अलावा पुस्तक नहेरी गीतापाठ, हनुमान चालिसा पाठ गर्नुका साथै हार्मोनियमका २४ वटा सुत्र समेत उनलाई कण्ठ छ । यसका अलावा ३० सेकेण्डमा कदेखि ज्ञसम्म उल्टो लेख्नुका साथै नेपाली, अंग्रेजी र बंगाली भाषासमेत उनलाई राम्रोसँग बोल्न र लेख्न आउँछ । अहिलेसम्म ७ वटा बढी गीतसमेत गाएका पंकजले सार्क राष्ट्रका सबै देशका राष्ट्रिय गीत समेत गाउन सक्छन् ।

स्थानीय छिमेकी पण्डितले पाठ गरेको सुनेर सबै कुरा सिकेका उनी बंगाली छिमेकीले लेखेको देखेर उल्टो लेख्न सिकेको बताउँछन् । उनले थुप्रै गायन प्रतियोगिताहरुमा सहभागीतासमेत जनाइसकेका छन् । उनका पिता शिक्षक हेमन्त सापकोटाका अनुसार पंकजले कुनै संगीतको ज्ञानसमेत लिएका छैनन् तर उनी जुनसुकै गीत गाउऊन सक्छन् । हालै उनले पिएलओ भ्वाइस अफ पूर्वाञ्चल प्रतियोगितामासमेत सहभागी भएर उत्कृष्ट ३० मा पर्न सफल भएका थिए ।
भविष्यमा एउटा कुशल पण्डित बन्ने सोच रहेको बताउने पंकज आगामी दिनमा संगीतसमेत सिकेर अगाडी बढ्ने बताउँछन् । केही नयाँ काम गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स खाउनेसमेत उनको र परिवारको धोको रहेछ ।

-->

Comments