तेज बन विश्वासी,
२८ भदौ, सुनसरी ।
'समाज सुधार्नु छ त सुरु आफैंबाट गरौं' भन्ने उखान यतिवेला नेपाल प्रहरीमा चरितार्थ भएको देखिन्छ ।
प्रहरी संगठनमा रहेर संगठन हितबिपरीत काम गरेको अभियोगमा पूर्वमा ५ सय बढी प्रहरीहरु विभागीय निलम्बनमा परेका छन् भने ८९ जना प्रहरीले जागिरबाटै हात धुनुपरेको छ ।
जनताको कडा परिश्रमबाट पालिने प्रहरीहरु उल्टै जनताहरुसँगै रकम असुल्न ब्यस्त बनेपछि पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले त्यस्ता प्रहरीलाई कार्वाही प्रकृया अगाडी बढाएको हो ।
पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार यो वर्ष पूर्वको बिभिन्न जिल्लामा रहेका ५ सय बढी प्रहरीलाई संगठनको आचरण बिपरीत काम गरेको अभियोगमा आन्तरीक कार्वाहीस्वरुप केही महिनाका लागि निलम्बन गरिएको छ भने ८९ जनालाई पेसाबाटै निलम्बन गराइएको जनाएको छ
प्रहरीको प्रतिवेदन अनुसार निलम्बनको कार्वाहीमा पर्ने प्रहरीहरुमा १ जना डिएसपी, ७ जना प्रहरी निरीक्षक, २५ जना प्रहरी नायव निरीक्षक, ४२ जना प्रहरी सहायक निरीक्षक, १ सय २० जना हवलदार, ३ सय ३३ जना सिपाहीका साथै ७ जना कार्यालय सहायक रहेका छन् ।
उनीहरुलाई आन्तरीक कार्वाहीस्वरुप केही महिनाका लागि निलम्बन गरिएको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
त्यस्तै जागिरबाटै बर्खास्तीमा पर्ने प्रहरीहरुमा २ जना प्रहरी नायव निरीक्षक, ३ जना प्रहरी सहायक निरीक्षक, १२ जना हवलदार, ७१ जना सिपाही र एकजना कार्यालय सहायक रहेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
संगठनभित्र रहेर जनतासँग घुस लिने, लागुऔषध प्रयोगकर्ताहरुलाई सहयोग गर्ने, तस्करहरुसँग रकम मागेर तस्करी गर्न दिने जस्ता कार्य गर्ने गरेका कारण त्यस्ता प्रहरीहरुलाई जागिरबाटै बर्खास्त गरिएको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
त्यस्तै कार्वाहीकै सिलशिलामा एक सइलाई असइ र एक हवलदारलाई सिपाईमा झारिएको प्रतिवेदनमा उल्लेख छ ।
जनतासँग हातेमालो गर्दै भ्रष्ट प्रवृत्तीका प्रहरीलाई कार्वाही स्वरुप यो अभियान चलाइएको पूर्वाञ्चल प्रहरी प्रमुख डिआइजी नवराज सिलवालले बताए ।

Comments
Post a Comment