मरूञ्जेलसम्म पनि अडान छोड्दिनँ - मन्त्री पण्डित



तेजन खड्का,
१३ असोज, उर्लाबारी।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो नीति र अडान मर्ने स्थिति आएसम्म पनि नछोड्ने बताएका छन् ।
मोरङको उर्लाबारीमा आज नेकपा एमाले उर्लाबारी नगर समितिले आयोजना गरेको बडादशैं तथा शुभदिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । त्यस अवसरमा बोल्ने क्रममा मन्त्री पण्डितले निजामती ऐन संशोधन विधेयक पास हुन नदिन विभिन्न षडयन्त्र भइरहेको बताए । नीति निर्माण गर्न तथा योजना कार्यान्वयनका लागि सुझाव दिन सरकारले पूर्व कर्मचारी सम्मिलित औपचारिक संयन्त्र निर्माण गर्न लागेको उनले दोहोर्‍याए ।




मन्त्री पण्डितले आफू मन्त्री पदमा रहेसम्म जुनसुकै हालतमा यसलाई पास गरी छाड्ने दाबी गरे । उनले भने, 'मेरो काम गराई देखेर धेरैले लालबाबु पण्डितलाई मन्त्रीबाट हटाइदिनु नि भन्नुभएको छ । तर गलत कामका बिरुद्ध मेरो पाइला निरन्तर चलिरहन्छ ।' उनले आफुलाई 'जाँड' खाएका नम्बरबाट पनि फोन गरेर हैरानी पार्ने गरेको बताए । आफ्नो कामप्रति जस्तोसुकै समस्या ब्यहोर्न आफू तयार रहेको बताउँदै मन्त्री पण्डितले यस्तै जिन्दगी जिउन मजा हुने बताए । बेकाम्मे जिन्दगी जिउनुभन्दा काम गरेर देखाउन नेता पण्डितको आग्रह छ । जनचाहाना बमोजिमको काम गरेपछि केही त काम गरेको थियो भन्ने मुल्याङ्कन हुने उनको बुझाई छ ।
काम गराईमा मूर्ति भएर कुरा गराईमा फूर्ति हुनेहरुको मुल्याङ्कन जनताले गर्ने उनले बताए। उनले भने, 'मेरो काम गराई गलत लाग्यो भने सल्लाह सुझाब दिनुहोला ।'



Comments