बालदिवसमा विविध कार्यक्रम

२९ भदौ, दमक । राष्ट्रिय वाल दिवसका अवसरमा विभिन्न ठाउँमा विविध कार्यक्रमका आयोजना गरिएका छन् । यस अवसरमा लखनपुरमा लखनपुर गाविस र मदन भण्डारी स्मृति प्रतिष्ठानले संयुक्त रुपमा गाविसको प्राङ्गणमा प्रावि, निमावि तथा मावि स्तरीय क्रमशः चित्रकला, कविता र हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेका छन् । चित्रकलातर्फ हिमाली बोर्डिङका मोति सुब्बा प्रथम, सिंहदेवी स्कुलका नरेश तामाङ द्वितीय, उदाउँदो वाल क्लवका सुमन लिम्बु तृतीय र सान्त्वनातर्फ मंगलमय उमाविका समीर धिमाल ,साउथपोल स्कुलका जेनी राई विजयी भएका थिए । त्यस्तै,कवितातर्फ उदाउँदो बाल क्लवकी रिता रिजाल प्रथम, हिमाली बोर्डिङ स्कुलकी सुरजिता खनाल द्वितीय र चेतना बाल क्लवका सागर ढकाल तृतीय भएका थिए । यसैगरी, हाजिरीजावतर्फ मनसुन बोर्डिङ स्कुल पहिलो, स्मारिका बोर्डिङ स्कुल द्वितीय र सरस्वती उमावि तृतीय भएका कार्यक्रम संयोजक धनप्रसाद भण्डारीले जानकारी दिए । प्रतियोगीताका विजयीहरुलाई लखनपुर स्रोत ब्यक्ति सुर्यप्रसाद सापकोटा, गाविस सचिव राजकुमार शाक्य ,प्रतिष्ठानका सामाजिक विकास अधिकृत रुद्रप्रसाद तामाङ लगायतले पुरस्कार वितरण गरेका थिए । गाविसस्तरिय सो प्रतियोगितामा लखनपुरका विभिन्न विद्यालय, वाल क्लवहरुको सहभागीता रहेको थियो । यसैगरी, लखनपुर-३ को साउथपोल अंग्रेजी वोर्डिङ स्कुलले समेत बाल दिवस मनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक खरेलले जानकारी दिए । स्कुलमा आयोजित सो कार्यक्रममा विद्यार्थीहरुले कथा, कविता, गजल, गीत, नृत्यहरु प्रस्तुत गरेका प्रिन्सीपल दिलीप संग्रौलाले बताए । त्यस्तै झापा दमक २ स्थित सनराइज बोर्डिङ स्कूलले बिभिन्न प्रतियोगितासहित बाल दिवस मनाएको छ । विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको संयोजनमा अभिभावकहरुसहित बालदिवस मनाएको हा । स्कूलका संस्थापक निर्देशक जनार्दनकुमार मैनालीका अनुसार चम्चा दौड, अभिभावकका लागि म्यूजिकल चेयर लगायतका प्रतियोगिताको आयोजना गरिएको थियो भने विद्यालयका विद्यार्थीहरुले बिभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरेका थिए । विद्यार्थी सुजना धिमाल र प्रदिप श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न प्रतियोगितामा बिजयीहरुलाई शिल्ड तथा पुरस्कार प्रदान गरिएको थियो ।

Comments