स्थानीय निकायसम्वन्धी ब्यवस्था संवैधानिक हुनुपर्छ - अधिकारी






४ असोज, विराटनगर।
नेकपा एमालेका नेता भरतमोहन अधिकारीले स्थानीय निकायसम्वन्धी ब्यवस्था संवैधानिक हुनुपर्ने बताएका छन् । लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधि विहिन बन्नु परेको भन्दै उनले यसको स्पष्ट ब्यवस्था संविधानमा उल्लेख गरिनु पर्ने बताए। स्थानीय निकायको ब्यवस्था संविधानमै उल्लेख भए विकास निर्माणका काम प्रभावित नहुनेसमेत उनको दावी थियो ।
नेकपा एमाले मोरङको स्थानीय निकाय तथा भौतिक संरचना विभागले आज विराटनगरमा आयोजना गरेको पूर्व-जनप्रतिनिधि भेला कार्यक्रममा बोल्दै नेता अधिकारीले सो कुरा वताएका हुन् । स्थानीय निकायको ब्यवस्था संविधानमा उल्लेख गरी केन्द्र र प्रान्तको निर्वाचन एकैपटक गर्नुपर्ने उनको भनाई छ । उनले भने, 'स्थानीय निकायलाई प्रान्तको जिम्मेवारी दिने तयारी छ ।' आर्थिक विकासमा छिमेकी मुलुकको दाँजोमा देश निकै पछि परेको बताउँदै उनले नेपालको सम्वृद्धिका लागि उर्जा र कृषि क्रान्ति आवश्यक रहेकोमा जोड दिए।
प्रमुख दलका नेताहरुले विभिन्न बाहनामा स्थानीय निकायको निर्वाचन गर्न तत्परता नदेखाइरहेको समेत नेता अधिकारीको भनाई छ । संविधान जारीका लागि माघ ८ गतेको विकल्प नरहेकाले सहमतिवाटै संविधान जारी गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा केन्द्रीय सदस्य जीवन घिमिरेले स्थानीय निकायको काम लथालिङ्ग भएको बताए। यसका लागि स्थानीय निकायको निर्वाचन चाँडो गर्नु पर्ने उनले बताए। पार्टीका मोरङ अध्यक्ष महेश रेग्मीले राजनीतिक उपलब्धीलाई आर्थिक उत्पादन र सम्वृद्धिसँग जोडेर लैजानु पर्ने बताएका थिए ।


Comments