जग्गा हडपिएको भन्दै महिलाले दिइन् अख्तियारमा उजुरी

lalpurja २६ भदौ, खजुरगाछी । लामो समयदेखि भोग चलन गर्दै आएको जग्गा थाहै नदिई आफ्नो नाममा नामसारी गरेको भन्दै झापा जुरोपानी-९ की एक महिलाले अख्तियार अनुसन्धान आयोगको सम्पर्क कार्यालय सुनसरीमा उजुरी दिएकी छिन् । जुरोपानी -९ को कित्ता नं. ३५२ को करिब १ कठ्ठा १६ धुर जग्गा गुमराहमा पारी जुरोपानीका तेजलाल राजवंशीले हड्पेको भन्दै बिबी राजवंशीले उजुरी दिएकी हुन् । २०२१ सालदेखि कित्ता नं. ४४१ को क्षेत्रफल ३ कठ्ठा ५ धुर जग्गामा घर बनाई बसोबास गर्दैआएकी उनले तेजलाल राजवंशीले २०५४ सालमा उक्त ४४१ को जग्गालाई कित्ता काट गरी ३५२ र ३५३ कायम गरी ३५२ को जग्गालाई आफ्नो नाउँमा दर्ता कायम गरेको उजुरी निवेदनमा आरोप लगाएकी छन् । फिल्डबुकको फोटोकपी, नागरिकताको फोटोकपी, बसोवास भएको जनसंख्या कार्डको फोटोकपी र घर धुरीकरको रसिदको फोटोकपी संलग्न राखी पेश गरिएको उजुरी पत्रमा उनले अनुसन्धान गरी हड्पिएको जग्गा फर्काई दिन आयोगलाई आग्रह गरेकी छन् । 'हामीले भोगचलन गर्दै आएको जग्गा बिना प्रमाण खोजीनीति नै नगरी मालपोत कार्यालय दमक र नापी कार्यालय दमकले अरुको नाउँमा जग्गा दर्ता कसरी गर्‍यो ?' मलिन स्वरमा बिबी राजवंशीले भनि्न, 'हाम्रो त अब उठीबास हुने भो।' दुई महिनाअघि ११ वर्षिया नातिनी अस्मिता राजवंशीलाई घरै छेउमा हत्या गरी मारिएको पिडाको आँसु नसुक्दै बिबी राजवंशीलाई अर्को पिडा थपिएको उनले गहभरी आँसु झार्दै सुनाइन् । 'श्रीमान बितेको बर्षौं भईसक्यो कहाँ गएर बस्ने ?' चिन्तित अनुहारमा उनले भनिन्, 'मेरो अब एक घुर जग्गा छैन।' मालपोत कार्यालय दमकले २०६५ साल चैत्र २४ गते तेजलाल राजवंशीलाई दिएको जग्गा धनी दर्ता प्रमाण पूर्जामा ३५२ कित्ता नं.को जग्गा साविक कित्ता नं. ४४० बाट आएको उल्लेख छ भने नापी कार्यालय दमकको रेकर्डमा ३५२ कित्ता नं.को जग्गा साविक कित्ता नं. ४४१ बाट आएको उल्लेख छ ।

Comments