बाढी, पहिरो पिडीतलाई राहत हस्तान्तरण




५ असोज, दमक।
झापाको दमकस्थित प्राकृतिक प्रकोप राहत कोषले देशका विभिन्न भागमा हालै आएको बाढी पहिरो पिडीतहरुलाई राहत पठाएको छ ।
आज दमकको नेपाल रेडक्रस सोसाइटी उपशाखाको सभाकक्षमा औपचारिक कार्यक्रम गरी समितिले प्रधानमन्त्री राहत कोषमा १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ उपलब्ध गराएको हो । सो राहत रकम झापाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद वाग्लेमार्फत कोषमा पठाइएको हो।
समितिमा विभिन्न क्षेत्रका संघ,संस्थाहरुले उपलब्ध गराएका सो राहत रकम सरकारी कोषमार्फत पठाएका हुन् । सो राहत रकम सहायक प्रजिअ वाग्लेले बुझ्दै यसलाई तत्काल प्रधानमन्त्री कोषमा पठाउने बताए। उहाँले मानवीय सेवामा यस क्षेत्रका बासिन्दाहरुले पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।



त्यस अवसरमा रेडक्रस झापाका सदस्य प्रकाश बुढाथोकी, नेपाल भारत मैत्री संघका अध्यक्ष गणेश बस्नेत, कञ्चनजंघा सहकारीका अध्यक्ष मणिकुमार भण्डारी लगायतले बोल्नुभएको थियो ।

दुई महिनाअघि रेडक्रसको पहलमा स्थानीय एक दर्जन बढि सामाजिक संघ, संस्थाहरुको सहभागितामा दमकमा स्थायी राहत खडा गर्न सो समिति गठन गरिएको समितिका संयोजक तथा रेडक्रस उपशाखा सभापति लीला गुरागाईले बताए। सो राहत कोषमा दमकका सहकारी, स्कुल, कलेज, विभिन्न ब्यक्तिहरु तथा संघसंस्थाहरुमार्फत हालसम्म ३ लाख ६१ हजार ६ सय ९६ रुपैयाँ संकलन भएको थियो ।

तस्वीर - राहत रकम हस्तान्तरण गरिँदै।



Comments