लथालिङ्ग बन्दै पञ्चायत रजत पार्क


विष्णु सुब्बा,
३१ भदौ, दमक।
पञ्चायत रजत जयन्ती मनाउने क्रममा निर्माण गरिएको झापाको दमक-१२ स्थित पशुहाट क्षेत्रको खाली जमीन लामो समयदेखि उपयोगविहीन भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवनसँगै जोडिएको यो खाली क्षेत्र यतिखेर गौचरनका रुपमा परिणत हुन पुगेको छ । यो क्षेत्रमा सम्बद्ध पक्षले चासो नदिएपछि गाईवस्तु बाँध्ने र परालको कुन्यु राख्ने ठाउँ मात्र बन्न थालेको छ ।
नगरपालिकाको स्वामित्वमा रहेको करिव एक विगाहाको हाराहारीमा रहेको सो स्थानलाई वेला वेला मनोरम पार्कका रुपमा विकास गर्ने भनिएपनि अहिलेसम्म त्यसतर्फ पहल हुन सकेको छैन् । नगरपालिकासँगै स्थानीय संघसंस्थाहरुले समेत यो क्षेत्रलाई नमुना मनोरम पार्कका रुपमा विकास गर्दै लैजाने भनेपनि हालसम्म कुनै काम हुन सकेको छैन ।

-->

दमक नगरपालिकाका इन्जिनीयर तीर्थनारायण श्रेष्ठका अनुसार नगरपालिकाले सो क्षेत्रलाई पार्कका रुपमा विस्तार गर्ने सोच बनाएको छ । तर यतिका बर्षसम्म सो क्षेत्रमा कस्तो योजना ल्याउने सोच ल्याउन सकेको छैन नगरपालिकाले। इन्जिनीयर श्रेष्ठले भने, 'त्यो ठाउँमा पार्क स्थापना गर्ने लक्ष्य लिएपनि खासै काम भएन।' नगरपालिकाको स्वामित्वमा रहेको सो क्षेत्र ब्यवस्थित पार्कका रुपमा विकास गर्न सकिए नगरको सुन्दरतामा यसले टेवा पुग्ने श्रेष्ठको भनाई छ । उनले भने, 'सवै क्षेत्रले पार्कलाई सहयोग पुर्‍याउन सके यहाँ प्रशस्त पूर्वाधार छन् ।'
पूर्वकै ठुलो पशुहाट बजारसँगै जोडिएको सो क्षेत्रमा केहि बर्ष अघिसम्म पानीको दह हुने गर्थ्यो। बर्षायाममा त्यहाँ आउजाउ गर्न कठिनाई हुने गरेको थियो । त्यस्तो लथालिङ्ग अवस्थामा रहेको ठाउँलाई केहि बर्ष अघिमात्र नगरपालिकाले माटो पुरेर सम्याएको थियो । किरात रायली भवन, नेपाल रेडक्रस सोसाइटी उपशाखा, दमक उद्योग वाणिज्य संघ लगायतका आधा दर्जन बढी संघसंस्थाहरूसँगै रहेकाले ती संस्थाहरुले पनि उक्त खाली ठाउँलाई उपयोग गर्न सक्रियता देखाएपनि नगरपालिकाले चासो नदिँदा सो क्षेत्र प्रयोगविहीन बन्न पुगेको हो ।
नेपाल रेडक्रस सोसाइटी उपशाखाका सभापति लीला गुरागाई नगरपालिकाले दूरगामी योजना नल्याउँदा त्यो क्षेत्र दिनानुदिन लथालिङ्ग हुँदैगएको बताउँछन् । आफूहरूले यस क्षेत्रलाई एउटा मनोरम पार्क बनाउन पहल गर्दा पनि सरोकार निकाय बेखबर बनेको उनको गुनासो छ । सभापति गुरागाईं भन्छन्, 'हामीले पटक पटक पार्क बनाउनका लागि नगरपालिकामा योजना लैजाँदासमेत काम हुन सकेन ।' धेरै संघ, संस्थाहरुका कार्यालयको मुखैमा रहेको सो ठाउँ पार्कका लागि उपयुक्त रहेको गुरागाईको भनाई छ ।
-->

पञ्चायती व्यवस्था २५ बर्ष पुगेको उपलक्ष्यमा तत्कालिन नगरपञ्चायतले त्यहाँ रजत स्तम्भसहित पार्क बनाएको हो । तर पञ्चायत ढलेपछिका दिनहरुमा विस्तारै सो पार्क लथालिङ्ग बन्न पुगेको हो । लोकतन्त्र आएपछि त्यो स्तम्भको नामाकरण नै हटाउने नत्र भत्काउने भन्ने चर्चा आएपनि त्यसो भने हुन सकेन । स्थानीयहरु भन्छन्, 'यति ठुलो क्षेत्रफल भएको जग्गालाई कुनै राम्रो काममा लैजान सोच नबन्नु दुखद विषय हो ।'
दमक उद्योग बाणिज्य संघका कार्यालय प्रमुख निरज विष्ट खाली क्षेत्र उपयोगविहीन रहँदा त्यहाँ गौचरन बन्न पुगेको बताउँछन् । नजिकका गाईबस्तु चरनका लागि बाँध्ने, परालको कुन्यु बनाउने र विभिन्न कार्यक्रम गर्ने स्थलका रुपमा सो ठाउँ परिणत भएको उनको भनाई छ । यसरी यति ठुलो जमीनलाई व्यवस्थित योजनासहितका काममा खर्च गर्न सके यसले नगरकै चिनारी दिने विष्टको भनाई छ ।
किरात भवन रायलि संघका महासचिव युवराज लिम्बु दमकको मुख्य भागमा अवस्थित यस क्षेत्रलाई संरक्षण गर्न सकिए यहाँको चिनारी बन्ने बताउँछन् । यतिका ठुलो सार्वजनिक जमीनलाई मनोरम पार्क बनाउन नगरपालिकाले चासो दिए बन्न सक्ने उनको विश्वास छ ।

-->

Comments