संचारकर्मीका रुपमा परिचित नाम हो, श्रीकृष्ण न्यौपाने । झापा केर्खाका उनी विगत ६ वर्षदेखि रेडियो कान्तिपुरमा समाचार वाचकका रुपमा कार्यरत छन् । संचारकर्मीको रुपमा आफ्नो अल्लगै पहिचान बनाउन सफल उनी आफ्नो परिचयको दायरालाई अझ फराकीलो बनाउने सोचका साथ नेपाली रजतपटमा प्रवेश गरेका छन् ।
वाल्यअवस्थाबाट नै कलाकारिताप्रति विषेश रुची भएको बताउने उनी अहिले आएर भने प्रत्यक्ष रुपमा यस क्षेत्रमा जोडिएका हुन् ।
त्यसो त उनले केही वर्षअघि नै नेपाल टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम 'प्रहरी अनुरोध', 'हाक्हक्क' र भर्खरै कान्तिपुर टेलीभिजनबाट प्रसारण भएको लोकप्रिय कार्यक्रम 'वाट् द फ्लप शो' कार्यक्रममा आफ्नो अव्वल कलाकारिता प्रस्तुत गरिसकेको भएपनि चलचित्रमा भने उनको डेव्यु चलचित्र कखरा बन्न पुगेको छ । रिलिजको क्रममा रहेको चलचित्रको कखराको मुख्य सन्देश विद्यार्थीलाई द्वन्दहिन शिक्षा प्रदान गर्नुपर्छ भन्ने रहेको र चलचित्रमा उनको भूमिका भने खलनायकको रहेको पनि उनले जानकारी गराए । यस्तै उनले अभिनय गरेको अर्को चलचित्र अखडा पोष्ट प्रोड्कशनको क्रममा छ भने चलचित्र लभ यू बाबाको छायाँकन भइरहेको पनि उनले जानकारी गराए ।
हालसम्म अभिनय गरेको प्रायः चलचित्रहरुमा खलनायकका रुपमा देखिन लागेका उनी नकारात्मक भूमिकामा प्रस्तुत भएर सकारात्मक सन्देश प्रदान गर्ने सोचका साथ आफूले खलनायकको भूमिकामा देखिन रुचाएको उनले बताए । उनले भने, 'हाम्रो समाजले खलनायक भन्ने वित्तिकै नराम्रो देखिने, नकारात्मक कामहरुमा प्रत्यक्ष रुपमा जोडिएका, अनि समाजमा नकारात्मक छाप छोडेकाहरुलाई मात्रै लिइने गरेको पाइन्छ तर वास्ताविकता भने अलि भिन्न हुने गरेको पाइन्छ । समाजमा सबैले रुचाएका, सबैसँग राम्रो व्यवाहार गर्ने अनि सुकिला, मुकिला देखिनेहरु पनि 'भिलेन' अर्थात् खलनायक हुने गर्दछन्।'
विषेश गरेर सकारात्मक सन्देश प्रदान गर्ने चलचित्रमा खेल्न रुचाउने उनी कुनैपनि क्षेत्रमा निरन्तर संघर्ष गरे सफलता पाउन सकिने सकारात्मक सोचलाई आत्मसात् गर्दै आफू अघि बढेको र एकदिन आफू यस क्षेत्रमा सबैको मन जित्न सफल हने पनि उनले बताए । नायक श्रीकृष्ण श्रेष्ठको अल्पायुमै भएको देहवशानले नेपाली रजतपटमा खड्किएको अपूरोपनलाई अर्का श्रीकृष्णले के कतिको पूरा गर्लान् ! अनि जसरी नायकका रुपमा दशर्कको मन जित्न सफल भएका थिए श्रीकृष्ण श्रेष्ठ त्यसरी नै खलनायकका रुपमा देखा पर्न लागेका अर्का श्रीकृष्ण न्यौपानेले दशकको मन जित्न कत्तिको सक्ने हुन् हेर्न बाँकी नै छ ।
नेपाली चलचित्र क्षेत्रको हालसम्मको इतिहासलाई अध्ययन गर्ने हो भने प्रायः सधैं नायकहरुकै हालीमुहाली हुने गरेको नेपाली रजतपटमा खलनायकका रुपमा उनले आफ्नो कलाकारीतालाई कतिसम्म टिकाउन र विकाउन सक्ने हुन् त्यो त समयले देखाउने छ ।
प्रस्तुति - किसोर श्रेष्ठ
.jpg)
.jpg)
Comments
Post a Comment