लागुऔषध प्रयोग गर्नेमा सुनसरी देशकै दोश्रो, मोरङ र झापा चौथो र पाँचौं





तेज बन विश्वासी
५ असोज, सुनसरी।
समाजमा जति उदाहरणीय कार्यहरु हुन्छन्, त्यति नै बदनामीका कार्यहरुले पनि पछ्याइरहेका हुन्छन् ।
सुनसरीको इटहरीमा पछिल्लो समय देखिएका केही उदाहरणीय कार्यलाई हालसालै गृहमन्त्रालयबाट सार्वजनिक गरिएको एक तथ्याङ्कले ओझेलमा पार्ने देखिएको छ ।
केही साताअघि पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले देशकै सबैभन्दा बढि अपराध भएको जिल्ला सुनसरीलाई देखाएको थियो भने अहिले गृहमन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा लागुऔषध प्रयोग गर्ने देशकै जिल्लाहरुमध्ये दोश्रो ठुलो जिल्लाको रुपमा सुनसरीलाई देखाएको छ ।






तथ्याङ्कका अनुसार प्रतिवन्धित लागुऔषध प्रयोगकर्ताहरु सुनसरीमा ७ हजार ४ सय ७ जना रहेका छन् । देशभरका १८ वटा जिल्लाहरुमा गरिएको सर्वेक्षणमा सबैभन्दा बढी लागुऔषध प्रयोगकर्ताहरु काठमाण्डौ महानगरपालिकाभित्र रहेको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कअनुसार काठमाण्डौ महानगरपालिकामा ३६ हजार ९ सय २८ लागुऔषध प्रयोगकर्ताहरु रहेको देखिएको छ ।
१८ वटा जिल्लामा गरिएको सर्वेक्षणबाट पूर्वका १६ जिल्लामध्ये पनि सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरी र धनकुटामा लागुऔषध प्रयोगकर्ताहरु नियन्त्रण बाहिर रहेको तथ्याङ्कमा उल्लेख छ।
तथ्याङ्कअनुसार देशभरबाट चौथो स्थानमा परेको मोरङमा लागुऔषध प्रयोगकर्ताहरुको संख्या ६ हजार ४ सय १५ र पाँचौ स्थानमा परेको झापामा ६ हजार ८ सय रहेका छन् ।
प्रहरीले जतिसुकै कडाई गरे पनि लागुऔषध प्रयोगकर्ताहरुले पूर्वको नाका काँकडभिट्टा र बिराटनगरको जोगवनी नाकालाई लागुऔषध ओसारप्रसारको मुख्य मार्ग बनाइ कारोवार उच्च राखेको प्रहरीले जनाएको छ ।





Comments