चौकी आक्रमण गर्नेलाई असइले १० हजार रूपैयाँ लिएर छाडे

२९ भदौ, उर्लाबारी । मोरङको बयरवन-८ रमाइलोस्थित प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक यज्ञ शर्माले सार्वजनिक मुद्दा लागेका एक ब्यक्तिसँग १० हजार रुपैयाँ लिएर छोडिदिएका दिएका छन् । प्रहरी चौकी घेराउ गरी प्रहरीमाथि आक्रमणको प्रयास गर्नेमध्येका मोरङ केरौन १ बस्ने गुम्बा भनिने नरेश धिमालसँग शर्माले १० हजार रूपैयाँ लिएर छोडिदिएको स्थानीयले बताएका छन् । २०६९ चैतमा बयरवन प्रहरी चौकी घेराउ गरी सेन्ट्रीमा रहेका प्रहरी जवान सुमन खत्रीलाई आक्रमण प्रयास गरेको भन्दै जवान खत्रीले धिमाल लगायत ७ जनालाई सार्वजनिक मुद्दा लगाएका थिए । त्यसपछि फरार धिमाल डेढ साताअघि भारतबाट घर फर्किएका थिए । घर फर्किएको तीन दिनपछि गत भदौ २ गते प्रहरी जवान खत्रीले धिमाललाई पक्राउ गरी चौकीमा हाजिर गराएका थिए । जिल्ला अदालतले सार्वजनिक मुद्दा लागेका धिमाल लगायतको टिमलाई जरिवाना तोकिसकेको भए पनि प्रहरी सहायक निरीक्षक शर्माले अदालत गए प्रक्रिया झन्झटिलो हुन्छ भन्दै स्थानीय स्तर मै मुद्दा मिलाउन दवाव दिएको बताइएको छ । शर्माले भने उक्त रकम आफूले नलिएको बताउँदै पीडित प्रहरी जवान खत्रीलाई दिएको बताएका छन् । उता पथरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रूद्र चुडालले भने शर्माका विरुद्ध नागरिकको पटक-पटक उजुरी आउने गरेको बताउँदै आफूले वर्दीको मर्यादा राखेर काम गर्न निर्देशन दिएको बताए।

Comments