समुदायिक सेवा केन्द्रको अध्यक्षमा दास

३० भदौ, खजुरगाछी। सामुदायिक सेवा केन्द्र गौरीगंज खजुरगाछीको अध्यक्षमा पुनः जयनारायण दास विजयी भएका छन् । केन्द्रको नयाँ नेतृत्व चयनका लागि आइतवार भएको निर्वाचनमा दोस्रो कार्याकालका लागि दास अध्यक्ष पदमा निर्वाचित भएका हुन्। इलाका प्रहरी कार्यालय गौरीगंजको नयाँ भवनमा संचालन भएको मतगणनाबाट वीर वहादुर प्रसाईलाई १७७ मतले पछि पार्दै दासले भारी मतान्तरले हराएका हुन् । निर्वाचनमा दासले ३ सय ९८ मत प्राप्त गरेका थिए भने प्रसाईंले २ सय २१ मत प्राप्त गरेका थिए । सेवा केन्द्रको पूर्वअध्यक्षसमेत रहेका जयनारायण दासलाई एमालेको एकल समर्थन रहेको थियो भने वीरवहादुर प्रसाईंलाई नेपाली कांग्रेस, एकीकृत माओवादी, मधेशवादी दलको संयुक्त समर्थन रहेको थियो । त्यसैगरी उपाध्यक्षमा १ मतको मतान्तरले केदार ढुंगेल विययी भएका छन् । उनका प्रतिस्पर्धी हरि राजवंशीले २ सय ८८ मत प्राप्त गरेका थिए भने ढुंगेलले २ सय ८९ मत प्राप्त गरेका थिए । सहसचिवमा पवन दास विजयी भएका छन् । उनले ३ सय ८ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नुना चौलागाईले २ सय ४९ मत प्राप्त गरेका थिए । त्यसैगरी कोषध्यक्षमा आइताङ लिम्बुले ३ सय ६१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी सीता पोख्रेलले १ सय ९४ मत प्राप्त गरेका थिए । सचिव पदमा गंगा प्रसाद राजवंशी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । त्यसैगरी सदस्य पदमा कोहवारा गाविसबाट विद्याराज पौडेल र हरि ओझा विजयी भएका छन् भने जुरोपानीवाट वेङ्गुलाल ताजपुरिया र निमलाल राजवंशी विजयी भएका छन् । गौरीगंज, खजुरगाछी र कोरोवारीबाट सदस्य पदमा दुई दुईजना गरी ६ जना यसअघि नै निर्वाचित भइसकेको निर्वाचन समितिका संयोजक बल वहादुर तामाङले बताए ।

Comments