कनकाई क्याम्पसको सञ्चालक समिति अवैधानिक भएको पुष्टि



३ असोज, सुरूङ्गा।
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको सञ्चालक समिति त्रिभुवन विश्वविद्यालयको नियमानुसार नभएको पुष्टि भएको छ ।
त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय योजना महाशाखा किर्तिपुर काठमाडौले २०७१ भाद्र १० गते कनकाई बहुमुखी क्याम्पस सुरुङ्गालाई पठाएको पत्रले उक्त कुराको पुष्टि गरेको हो । त्रि. वि. ले पठाएको पत्र संख्या १६७ मा क्याम्पस प्रमुखलाई सम्बोधन गर्दै त्रिवि नियमावलीको परिच्छेद २०६८ को परिमार्जित ३.१ को २ र २ को क मा भएको व्यवस्था बमोजिम नभएकाले वर्तमान समिति खारेज गरी ७ दिनभित्रमा क्याम्पस सभा बोलाई तदर्थ समिति गठन गरी निर्णयको प्रतिलिपि पठाउन भनिएको छ ।



यस सम्बन्धमा क्याम्पस प्रमुख त्रिलोचन मैनालीसँग जिज्ञासा राख्दा उनले त्रिविले पठाएको पत्र क्याम्पसमा गत भाद्र ३१ गतेमात्र प्राप्त भएको बताए । प्रमुख मैनालीले त्रिविको पत्रसम्बन्धमा क्याम्पस व्यवस्थापन समितिलाई अनौपचारिक रुपमा जानकारी गराइसकेको बताए । उनले क्याम्पसको विधानमा क्याम्पस प्रमुखले साधारण सभा बोलाउन नपाउने नियम भएकाले आफु अन्योलमा परेको बताए । कनकाई क्याम्पसको विधानअनुरुप सञ्चालक समितिले नै अर्को साधारण सभा बोलाउने प्रावधान छ ।
एक महिनाअघि क्याम्पस व्यवस्थापन समितिले एक्लौटी रुपमा शुल्क वृद्धि गरेपछि विद्यार्थीहरुले त्यसको विरोध गर्दै त्रिवि नियमसम्मत नभएको संचालक समिति खारेजी, शुल्क वृद्धि फिर्ता, क्याम्पसको आयव्यय सार्वजनिक लगायतका माग राख्दै क्याम्पस प्रशासनमा ९ दिनसम्म तालाबन्दी लगायतका विरोध कार्यक्रम गरेका थिए ।
विद्यार्थीहरुको जायज मागलाई वार्ताबाट सम्बोधन गर्दै अभिभावक हिरा थापाको नेतृत्वमा क्याम्पस सञ्चालक समिति वैधानिक वा अवैधानिक भनी प्रष्ट हुन त्रिविमा प्रतिनिधि मण्डल जाने निर्णय गरिएको थियो । उक्त टोलीले त्रिविमा गएर बुझ्दा अवैधानिक नै भएको भन्दै त्रिविले पत्राचार गरेको संयोजक थापाले बताए ।
त्रिवि नियमावलीमा अध्यक्षका लागि ३ जनाको नाम सिफारिस क्याम्पस सभाले गर्नुपर्ने प्रावधान रहेको छ । सिफारिस ३ जनामध्येबाट त्रिवि उपकुलपतिको कार्यालयले छनौट गर्ने प्रावधान रहेको छ । त्रिवि यिमावली अनुसार पदेन सचिव र अध्यक्ष बाहेकका पदमा मात्र निर्वाचन गर्न पाउने प्रावधान रहेको छ ।



Comments