हृदयाघात भएपछि पूर्वराजाले भने - अव कहिल्यै धुम्रपान गर्दिनँ




६ असोज, काठमाडौं ।

उच्‍चरक्तचाप र कोलेस्ट्रोलबाट पीडित पूर्वराजा ज्ञानेन्द्र शाहको हात शनिबार बिहान एक्कासि झमझमायो। तत्काल उनका निजी चिकित्सक डा. किशोर राणा निर्मल निवास पुगेर स्वास्थ्य जाँच गरे।

अत्यधिक धूमपान गर्दै आएका ज्ञानेन्द्रको ईसीजी र रगत परीक्षण गर्दा स्वास्थ्य अवस्था सामान्य देखियो तर डा. राणालाई त्यसप्रति शंका लाग्यो। त्यसपछि थापाथलीस्थित नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. भारत राउत र यादव भट्टलगायतको सल्लाहमा फेरि ज्ञानेन्द्रको ईसीजी गर्ने निष्कर्ष निकालियो।


साँझ ६ बजे दोस्रोपटक ईसीजी गर्दा ६८ वर्षीय ज्ञानेन्द्रमा हृदयाघातको संकेत देखियो। दोस्रोपटक परीक्षण गरिएको रगतमा पनि केही खराबी देखियो। यसबाट ज्ञानेन्द्र पूर्ण रूपमा स्वस्थ नभएको निष्कर्षमा चिकित्सक पुगे।



यसबारे पूर्वराजपरिवारका सदस्यबीच छलफल चल्दै गर्दा राति नौ बजेतिर ज्ञानेन्द्रले छातीमा पीडा महसुस गर्न थाले। त्यसपछि चिकित्सकले उनलाई घरमा होइन तुरुन्त अस्पताल गएर उपचार गर्न सल्लाह दिए। ज्ञानेन्द्रलाई उपचारका लागि राति १० बजे थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइयो।

अस्पतालमा एन्जियोग्राफी गर्दा उनको मुटुको देब्रेपट्टिको रक्तनली पूर्ण रूपमा बन्द (हृदयाघात) भएको पाइएपछि बेलुनको सहयोगमा बन्द रक्तनली सफा गरियो। त्यसपछि ज्ञानेन्द्रले आराम महसुस गरेको उपचारमा संलग्न डा. रावतले बताए।

ज्ञानेन्द्रकी छोरी प्रेरणाका छोरा पार्थवबहादुर सिंहको जन्मदिन शनिबार नै परेकाले जन्मदिन मनाउने तयारी भइरहेका बेला उनको स्वास्थ्यमा समस्या देखिएको थियो। यसले गर्दा जन्मदिन मनाउने कार्यक्रम रद्द गरिएको थियो। रावतका अनुसार समयमै उपचार भएकाले ज्ञानेन्द्रको मुटु क्षति हुनबाट जोगिएको छ।

आइतबार बिहान अस्पतालको निजी सघन उपचार कक्षमा सारिएका ज्ञानेन्द्रको दिउँसोबाट स्वास्थ्यमा थप सुधार आएको छ। डा. रावतले भने, 'उहाँलाई हृदयाघात हुनुको पछाडि वंशानुगत कारण पनि जोडिएको हुनसक्छ, साथमा धूमपान, उच्चरक्तचाप र कोलेस्ट्रोलले त्यसलाई बढाएको पाइन्छ।'

स्रोतका अनुसार हृदयाघात भएपछि ज्ञानेन्द्रले अबदेखि कहिल्यै पनि धूमपान नगर्ने भनेर प्रतिबद्धता व्यक्त गरेका छन्। सात वर्षअघि यही समयमा ज्ञानेन्द्रका छोरा पारसलाई पनि हृदयाघात भएपछि नर्भिक अस्पतालमै एन्जियोग्राफी गरिएको थियो।




डा. रावतले भने, 'बुवाको भन्दा छोराको हृदयाघातको प्रकृति अझ गम्भीर थियो तर पनि उपचार सफल भयो।' ज्ञानेन्द्रको स्वास्थ्य अवस्था बुझ्न दिनभर अस्पतालमा आफन्त तथा शुभेच्छुकको भीड लागेको थियो। उनलाई भेट्न आमा रत्नराज्य लक्ष्मी शाह साँझ अस्पताल पुगेकी थिइन्।

पूर्वप्रधानमन्त्री एवं एमाओवादी नेता डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, कीर्तिनिधि बिष्ट, तुलसी गिरी र लोकन्द्रबहादुर चन्द पनि अस्पताल पुगेका थिए। राजनीतिक दलका अन्य नेता, नागरिक समाजका प्रतिनिधि, व्यवसायी, कलाकार र सर्वसाधारण पनि उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए।

अस्पताल पुगेका डा. भट्टराईले त्यहाँ राखिएको पुस्तिकामा 'पूर्वराजा ज्ञानेन्द्र शाहको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु' लेखेका छन्। ज्ञानेन्द्रको स्वास्थ्यमा सुधार हुँदै गए सोमबार बिहान डिस्चार्ज गर्न सकिने चिकित्सकले बताए।

- अन्नपूर्ण पोष्टबाट



Comments