फोनमा परेको 'लभ'ले पुर्‍यायो खोर





१ असोज, इलाम।
घरमा एउटी श्रीमती हुँदाहुँदै कान्छी ल्याउने इलामको नयाँबजारका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बहुविवाहको आरोपमा पक्राउ पर्ने नयाँबजार ४, लप्सीबोटेका २७ बर्षीय मनकुमार भण्डारी हुन् । उनलाई प्रहरीले हिजो मंगलबार कान्छी श्रीमतीसहित पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहँदा भण्डारीको प्युठान बादीकोट ७ की शान्ताकुमारी खत्रीसँग फोनबाटै भएको चिनजान प्रेममा परिणत भएपछि विवाह गर्ने सल्लाह भएको थियो । भण्डारी नेपाल फर्केपछि विबाह गर्ने सल्लाह बमोजिम खत्रीसँग भण्डारीले भदौ १९ गते दोस्रो विवाह गरेका थिए ।
भण्डारीले दोस्रो विवाह गरेपछि जेठी पत्नी २६ वर्षीया मनमायाले मनकुमार र शान्ताकुमारी विरुद्ध गत सोमबार इलाका प्रहरी कार्यालय पशुपतिनगरमा जाहेरी दिएकी थिइन् । पति मनकुमारसँगै कान्छी पत्नी शान्तालाई पनि मंगलबार नै गिरफ्तार गरिएको र उनीहरु दुवैविरुद्ध सोही दिन जिल्ला अदालतमा बहुविवाहसम्बन्धी मुद्दा दायर गरी अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरी निरीक्षक इश्वर थापाले बताए ।



Comments