कुटपिट र हतियार प्रहारबाट एकको मृत्यु चार घाइते

-->

१५ असोज, दमक।
पूर्वका विभिन्न ठाउँमा कुटपिट र हतियार प्रहारबाट हिजो एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
मोरङको अमाहीबरियाती ९ मा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
अमाहीवरियाती ९ का ४५ वर्षिय मोहमद जहाँगिरले गरेको निर्घात कुटपिटका कारण स्थानीय ६५ वर्षिय मोहमद इलियासको हिजो मृत्यु भएको हो ।
गत आश्विन २ गते साँझ जहाँगिरले इलियास, उनकी पत्नी मसिना खातुन र छोरी उमेदा खातुनलाई सामान्य बादविवादको निहुँमा कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका इलियासको मंगलबार विहान ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने जहाँगिर फरार रहेकाले उनको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीको भनाई छ ।

त्यस्तै मोरङको पथरीशनिश्चरे ७ का ५५ वर्षका तोर्णराज निरौलालाई अपरिचित समुहले खुकुरीले प्रहार गरी गम्भीर घाइते बनाएको छ । पथरीबजारबाट घरतर्फ जाँदैगरेका उनलाई राती १० बजेतिर अपरिचित समुहले पछाडिबाट खुकुरी प्रहार गरेको थियो । दायाँ पाखुरामा खुकुरीको चोट लागेका निरौलाको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको र ।
खुकुरी प्रहार गर्ने समुहको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।





यसैगरी सोही राति १० बजेतिर नै सुनसरीको दुहवी ५ का १९ वर्षिय संजित सुबेदीलाई स्थानिय २० वर्षका मनिष पौडेल, काले लिम्बु र रविन्द्र पौडेलले छुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।
पुरानो रिसइवीको निहुँमा सुवेदीमाथि छुरीले प्रहार भएको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीको भनाई छ ।
बाँया हातको पाखुरामा गम्भीर चोट लागेका सुवेदीको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । घट्नामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

उता उदयपुरको साउने ४ मा घाँस काट्ने निहुँमा वादविवाद हुँदा कुटपिटबाट एक बालक गम्भीर घाइते भएका छन।
साउने ४ का छबिलाल मगरको कुटाईबाट स्थानीय १३ वर्षिय शेर बहादुर मगर घाइते भएका हुन । साँझ ५ बजे घाँस काट्ने क्रममा वादबिबाद हुँदा १७ वर्षिय मगरले उनलाई खुर्पाले टाउकोमा प्रहार गरी घाइते बनाएका हुन । गम्भीर घाइते उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।
झगडामा छबिलाल मगरकको समेत टाउकोमा सामान्य चोट लागेको छ । उनलाई प्रहरीको नियन्त्रणमा सोही अस्पतालमा उपचार गराइएको उदयपुर प्रहरीले जनाएको छ ।



Comments