सैनिकविरूद्ध फनगाइजको सहज जीत






५ असोज, दमक।
झापाको केर्खामा जारी दोश्रो केर्खा कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा फन गाइज चुलाचुली इलाम विजयी भएको छ ।
प्रतियोगित अन्तर्गतको पहिलो चरणको खेलमा सैनिक क्लब झापालाई एकका विरुद्ध ३ गोलले पराजित गर्दै इलामले दोश्रो चरणमा स्थान सुरक्षित गरेको हो । जुमानु राई, निराजन खड्का लगायतका राष्ट्रिय खेलाडीहरु सहित उत्रिएको फन गाइजले खेल सुरु भएको १२ औं मिनटमा नै विशाल तामाङको गोलमार्फत अग्रता कायम गरेको थियो ।
पहिलो हाफमा एक सुन्यले अग्रता लिएको फन गाइजले दोश्रो हाफमा झनै सुदृढ खेल प्रदर्शन गर्‍यो। दोश्रो हाफको आठौं मिनेटमा जुमानु राई र नवौं मिनेटमा विनोद लामाले गोल गरेपछि फन गाइजले तीन शुन्यको अग्रता कायम गर्‍यो। दोश्रो हाफको २३ औं मिनेटमा सैनिकका समिर कटुवालले पेनाल्टीमार्फत गोल गर्दै सैनिकलाई खेलमा फर्काउने कोसिस गरेपनि त्यसपछि गोल हुन सकेन र खेल फन गाइजले जित्यो । खेलको म्यान अफ द म्याच फन गाइजका विनोद लामा घोषित भए ।
प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा पथरी स्पोर्टिङ क्लब र रोलिङ क्लब धुलाबारीबीच प्रतिस्पर्धा हुने आयोजकका बुद्धि सुब्बाले जानकारी दिए ।



Comments