मजदुरहरूको दशैं खर्च र ज्याला रकम २५ लाख रूपैयाँ लिएर निगमका क्यासियर फरार




७ असोज, विर्तामोड।
झापाको बिर्तामोडस्थित नेपाल चिया विकास निगम लिमिटेडका एक कर्मचारी मजदुरको दशैं खर्च र ज्याला वितरणका लागि निकालिएको २५ लाख रुपैयाँ लिई आज मंगलबार दिउँसोबाट फरार भएका छन् ।
झापाकै शान्तिनगर गाविसस्थित बर्ने चिया कमानका ३ सय २२ जना मजदुरको दशैं खर्च तथा ज्याला बृद्धि फरक रकम र मजदुरको ज्यालासमेत गरी २५ लाख रुपैयाँ लिई निगमको क्यासियर पदमा कार्यरत अन्दाजी वर्ष ३५ को राजपाल सिंह फरार भएको निगमका प्रशासन प्रमुख लोकनाथ दंगालले जानकारी दिए।
भारतको राजस्थान घर भई निगमको क्यासियर पदमा कार्यरत सिंहले नेपाल एसबीआई बैंकको विर्तामोड कार्यालयबाट उक्त रकम निकालेर फरार भएको बताइएको छ ।
निगमका प्रशासन प्रमुख दंगालका अनुसार फरार सिंहको तस्वीरसहित आवश्यक हुलिया दिई खोजतलासका लागि प्रहरी प्रशासनसमक्ष अनुरोध गरिएको छ ।
मजदुरी गरी छाक टार्ने मजदुरको ज्याला र दशैं खर्च रकम दशैंको मुखमा लिई आफ्नै कर्मचारी फरार भएको घटनाप्रति निगम व्यवस्थापनले दुःख व्यक्त गरेको छ । निगमले केही दिनका लागि संयमता अपनाउन तथा धैर्यधारण गरिदिन सम्पूर्ण मजदुरमा अनुरोध गर्दै फरार रहेका सिंहको खोजतलासमा सहयोग पुर्‍याइदिन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।




Comments