गेष्ट हाउसमा बक्स पलङभित्र युवतीको विभत्स शव



तेज बन विश्वासी,
२ असोज, सुनसरी ।
सुनसरीको इटहरीस्थित अरुण गेष्ट हाउसमा पाहुनाको रुपमा आएका एक युवकले सँगै आएकी युवतीको हत्या गरी फरार भएका छन्।
बिहीवार बिहान गेष्टहाउसको कोठा नं ९ को बक्स पलङ्गभित्र कोचिएर राखिएको अवस्थामा युवतीको शव भेटिएपछि ती युवतीको हत्या भएको प्रहरीले पुष्टी गरेको हो ।

भदौ ३१ गते राति गेष्टहाउसमा आएका दुईमध्ये युवकले आफ्नो नाम बिनोद साही र ठेगाना भोजपुर लेखाएर कोठा बुक गराएको इटहरी प्रहरीले जनाएको छ ।
युवक भोलिपल्ट नै कोठा छोडी फरार भएको होटल सञ्चालकको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
बिहीवार बिहान कोठा सफा गर्ने क्रममा गन्ध आएपछि प्रहरीलाई खबर गर्दा कोठाभित्र रहेको बक्स पलङ्गभित्र कोचिएको अवस्थामा युवतीको शव फेला परेको इलका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कुन्दन देवले बताए ।
युवतीको मुखबाट रगत निस्किएको र अनुहार पनि बिग्रिएको अवस्थामा रहेका कारण सोही युवकले हत्या गरेर फरार भएको हुन सक्ने प्रहरी निरीक्षक देवले बताए ।
युवतीको शवलाई बिहीवार बिहान पोष्टमार्टमको निमित्त धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।






Comments