तीजमय बन्दै कनकाई, तीजमा टपरा बुन्ने प्रतियोगिता

७ भदौ, सुरुङ्गा। नजिकिँदै गरेको महिलाहरुको महान् चाड तीजको पूर्वसन्ध्यामा कनकाई नगरपालिकामा विविध कार्यक्रमहरु सम्पन्न भएका छन् । यहाँका विभिन्न संघसंस्था, वन समुह, महिला समुह, आदिको आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रमहरु भएका हुन् । सृजना आमा समुह कनपा-५ मण्डल बस्ती डाँडा गाउँको आयोजनामा ब्रजेश्वर शिव पाञ्चायन मन्दिरको परिषरमा समावेशी तीज कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ८६ वर्षीया हरिमाया मगरसहित ७० वर्षमाथिका कञ्चनीमाया मगर, सुमित्रा मगर, कृष्णकला दाहाल, अभिमाया जोशी, नरमाया दंगाल, डम्बरमाया सुब्बा, मेनुका दंगाल, गंगादेवी भट्टराई र जानुकादेवी भुजेललाई सम्मान गरिएको थियो । समुहका अध्यक्ष गोमा थापाको अध्यक्षता तथा अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष सीता बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बेनुबाजा अंग्रेजी विद्यालयका प्रिन्सिपल विनोद सुब्बा, जनचेतना सामुदायिक संस्थाका अध्यक्ष चित्रकुमारी बस्नेत, सीतारा जीवन विकास केन्द्रका अध्यक्ष सीता खड्का, लालपानी माविका विव्यस अध्यक्ष तपन मण्डल, पाथीभरा कर्ीतन मण्डलीका अध्यक्ष नन्दमुनि ओली, कनकाई कीर्तन मण्डलीका अध्यक्ष देवीप्रसाद संग्रौला, ब्रजेश्वरी शिव मन्दिरका अध्यक्ष अशोक खड्का, मेडेफ नेपालकी उद्यम विकास सहजकर्ता सुनिता गुरुङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन समुहका सचिव सावित्रा बर्देवाले गरेकी थिइन् । त्यस्तै, सुरुङ्गा जेसीजको आयोजनामा तीज विशेष कार्यक्रम जेसीज सभाहलमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि महिला तथा बाल विकास केन्द्र झापाका प्रमुख सह-सचिव तारा अधिकारीले नारीहरुलाई धर्मले शक्तिशाली बनाएकाले हिनताबोधमा बाच्न आवश्यक नभएको र हरेक क्षेत्रमा नारीले नेतृत्व लिनु पर्ने बताइन् । जेसीजको कार्यालय परिसरमा धुपीको विरुवा रोपी उद्घाटन गरिएको उक्त कार्यक्रममा सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरिया, सन् २०११ का एलपी उप्रेती लगायतले मन्तव्य राखेका थिए । सुरुङ्गा जेसीजका सह-कोषाध्यक्ष निर्मला चाम्लिङ राई कार्यक्रम संयोजक रहेको सो कार्यक्रममा आस्थावाचन पुष्पा कँडेलको रहेको थियो भने कार्यकारिणी उपाध्यक्ष सरला पोखरेलको स्वागत मन्तव्य रहेको थियो । सुरुङ्गा जेसीजका अध्यक्ष शिवकुमार कँडेलको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन सदस्य सुष्मा न्यौपानेले गरेकी थिइन् । त्यस्तै, सुकेडाँगी महिला समुह कनपा-२ को आयोजनामा टपरी बुन्ने प्रतियोगिता सम्पन्न भएको छ । ९ जना स्थानीय महिलाहरुको सहभागिता रहेको टपरी बुन्ने प्रतियोगितामा गोमा खवास विजेता भएकी थिइन् । उक्त कार्यक्रममा हण्डी फोर्ने, म्यूजिकल चेयर, नृत्य तथा गीत प्रतियोगिता समेत सम्पन्न भएको थियो । समूहकी अध्यक्ष उर्मिला चापागाईंको अध्यक्षता र कनकाई सामुदायिक वन सुरुङ्गाकी सचिव एवं उद्यमी महिला विकास समिति सुरुङ्गा शाखाकी अध्यक्ष कविता बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व प्रहरी नायब निरीक्षक रुकुम नेपाल, सुकेडाँगी सामुदायिक वन समूहका अध्यक्ष गंगाप्रसाद ढुंगेल, पूर्व अध्यक्ष तोयानाथ अधिकारी, कनकाई सामुदायिक वन समुहका अध्यक्ष रुद्रप्रसाद चिमरिया, किराँतेश्वर महादेव धनुषकोटीधाम संस्थाका सचिव कुमार पौडेल लगायतले मन्तव्य राखेका थिए । डगमाया थापा मगरको स्वागत मन्तव्य रहेको कार्यक्रममा १०२ वर्षीया मादवी रिमालसहित १६ जना ज्येष्ठ महिलालाई सम्मान गरिएको थियो । कार्यक्रममा सबै धर्म, जाति र भाषाका महिलाहरुको आफ्नो पहिरनमा उपस्थिति रहेको र यसले तीज पर्व हिन्दु महिलाहरुको मात्र चाड नभएर सबै नपाली महिलाहरुको चाड भएको पुष्टी भएको स्थानीय जानकी निमाविका शिक्षक कैलाश बरालले बताए । उक्त कार्यक्रमको सञ्चालन लीला भुजेल (खवास) ले गरेकी थिइन् ।

Comments