कोशी फुटेको ६ वर्ष, पिडा बिर्सेपनि त्रास उत्तिकै

तेज बन विश्वासी २ भदौ, सुनसरी । गत २०६५ साल भदौ २ गते कसैले सोच्दै नसोचेको सप्तकोशी फुटेर गाउँ पसेको र हजारौं मानिसहरु बेपत्ता बनाउनुका साथै अरबौं रूपैयाँको नोक्सानी गरेको त्यो कालो दिन आज ६ वर्ष पुगेको छ । कोशी फुटेर गाउँ पसेको ६ वर्ष पुग्दासमेत कोशी पिडितहरुले अझै पनि ढुक्कको जीवन जिउन सकिरहेका छैनन् । उक्त दिन कोशीले पश्चिम कुसाहामा तटबन्धन भत्काएर गाउँ पस्दा सुनसरीको लौकही, हरिपुर, श्रीपुर, प्रकाशपुर लगायतका गाविसहरु डुवानमा पर्नुका साथै ५० हजार बढी मानिसहरु बिस्थापित बनेका थिए । कोशी फुटेको ६ वर्ष बितिसक्दा पनि कोशीको त्रास अझै मनमा बिझाइरहने सुनसरी हरिपुरका कोशी पिडित श्रवण कुमार मण्डल बताउँछन् । 'आकाश कालो भयो र अलिकती पानी पर्‍यो कि कोशी फुट्ने डर मनमा जागेर आउँछ र परिवारसहित आफन्तकहा शरण लिन जानुपर्ने वाध्यता आइपर्छ', मण्डल भन्छन् । कोसी फूट्दाको भिडियो केही दिनअघि पनि सुनकोशीमा बाढी आउँदा त्यसको प्रत्यक्ष असर सप्तकोशीमा परेको थियो । पानीको वहाव उच्च देखेपछि पुनः कोशी फुट्ने डरले सुनसरीको पश्चिम कुसाहा गाउँ एकाएक सुनसान बनेको थियो । फेरी पनि कोशी फुटने सम्भावना प्रवल देखिएकोले आफु र आफ्नो परिवारसहित इनरुवास्थित आफन्तकहाँ बास बस्न गएको सुनसरी पश्चिम कुसाहाका स्थानीयवासी सहादत मेहताले बताए । त्यस्तै कोशी फुटेको दिनलाई स्मरण गर्दै कोशी पिडितहरु प्रत्येक सालको भदौ २ गतेलाई कालो दिनको संज्ञा दिँदै कोशीमा पूजाआजा गर्दै आएका छन् । कोशी फुटेर विचल्ली बनाएको ६ वर्ष बितिसक्दा पनि सरकारले आफुहरुलाई वेवास्ता गर्दै आएको कोशी पिडितहरुको गुनासो छ । कोशीको बारेमा गहिरो अध्ययन गर्ने सरकारमा नभएको कारण कोशी पिडितहरुको समस्या जस्ताको तस्तै रहेको कोशी पिडितहरुले बताएका छन् ।

Comments