१ सय तोला सुन र १ करोड रूपैयाँ बढि ठगी गर्ने पक्राउ

तेज बन बिश्वासी, ५ भदौ, सुनसरी। सुनसरीको इटहरी लगायत आसपासका ५० जनाभन्दा बढि ग्राहकहरुले धरौटीमा राखेको सुन र १ करोड बढी रकम हिनामिना गर्ने इटहरीका एक सुन व्यापारीलाई बिहीवार प्रहरीले पक्राउ गरेको छ । इटहरीस्थित धर्मराज ज्वेलर्सका सञ्चालक धर्म भनिने अजय लिम्बुले आफूहरूको १०० तोला बढी सुन र १ करोड बढी रकम हिनामिना गरेको पिडीतहरुको तर्फबाट सामुहिक उजुरी परेपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पिडितहरुको तर्फबाट इटहरीकी दुर्गा बुढाथोकी, गोमा बुढाथोकी, लक्ष्मी राई, चित्रकला घिमिरे, दुर्गा बुढाथोकी लगायतले रकम तिरेर पनि सुन आफुहरुले फिर्ता नपाएको भन्दै ब्यापारीसँग तत्काल आफुहरुको सुन फिर्ता पाउनु पर्ने माग गरेका छन् । सुन व्यवसायी लिम्बुले इटहरी, तरहरा, पकली लगायतका ५० भन्दा बढी ग्राहकहरुको १०० तोला बढी सुन धरौटीमा राखिदिएको र धरौटी रकम लिएर पनि सुनसहित रकमसमेत आफैले पचाएको प्रहरीले जनाएको छ । सुन ब्यापारी अजय लिम्बुले एक तोलादेखि ४ तोलासम्म ५० जनाभन्दा बढीको सुन धरौटीमा राखेको र अधिकांसले धरौटी रकम तिरेर पनि सुन फिर्ता नपाएको उजुरीमा उल्लेख गरिएको छ । आफुहरुले धरौटीमा राखेको सुन लिन आउँदा ब्यापारी लिम्बुले भोलि भोलि भन्दै टार्ने गरेका कारण परिवारमा समेत कलह उत्पन्न हुन थालेपछि बाध्य भएर प्रहरीमा उजुरी गर्नु परेको पिडित इटहरीकी गोमा बुढाथोकीले बताइन् । नाम चलेकै सुन पसल हो भन्ने बिश्वासका कारण लिम्बुको सुन पसलमा केही रकम लिएर २ तोला सुन धरौटीमा राखेको तर धरौटी रकम तिरेर पनि आफ्नो सुन अहिलेसम्म फिर्ता नपाएको बुढाथोकीले गुनासो गरिन्। आरोपित लिम्बु इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेका छन् ।

Comments