असहाय वृद्धाको जग्गा किर्ते गरी अर्कैको नाममा दर्ता

विष्णु पौडेल, दमक। झापाको जुरोपानी -९ को एउटा परिवारको २०१८ सालदेखि बसोबास गर्दै आएको तीन कठ्ठा जग्गा अर्कैले दर्ता गरेर धनीपूर्जा लिएको सार्वजनिक भएको छ । जुरोपानी गाउँ ब्लकको साविक कित्ता नं ४४१ को जग्गामा बसोबास गर्दैआएकी विधिकुमारी राजवंशीका नाममा २०५४ साल बैशाख १९ गते कित्ता नं. ३५२ र ३५३ फिल्डबुक कायम भएकोमा ११ बर्षपछि जुरोपानी- ५ का तेजलाल राजवंशीले आफ्नो नाममा दर्ता गरेका खुल्न आएको हो । तेजलालको समेत स्वामित्वको जग्गा सो स्थानमा भएका कारण कर्मचारीहरुसँग मिलेमतो गरी विधिकुमारीलाई सुकुम्बासी बनाएको पीडित पक्षले आरोप लगाएका छन् । पिडीत विधिकुमारीकी छोरी पूर्णकुमारीले आफुहरुलाई थाहै नदिई तेजलालले सो जग्गा आफ्ना नाममा दर्ता गर्दा पिडीत हुनु परेको बताइन् । विधिकुमारीले आफ्नो बसोबासोसमेत भइरहेको जग्गा अर्काले दर्ता गरी स्वामित्व हडपेको बिषयमा आफ्नी नातिनीको हत्या भएको घटनापछि मात्रै थाहा पाएको बताइन् । आफ्ना तीन छोरी सबैको बिबाह गरिसकेको, पतिको पनि निधन भएको र छोरासमेत नभएका कारण आफु बुढेसकालमा बस्ने बास समेत गुमेको पनि गुनासो गरिन् । आफ्नो बसोबासो भएको जग्गा नै अर्कैले किर्ते गरी हडपेपछि पिडीत भएकी उनी न्यायका लागि भौतारिँदै लखनपुरस्थित छोरी पूर्णकुमारीको घर आइपुगेकी छिन् । जुरोपानी गाविसका पूर्व उपाध्यक्ष नागिन राजवंशीले गाउँ ब्लकका नाममा रहेको साविक कि.नं. ४४१ को जग्गा २०५२ सालको नापी हुँदा आफ्नो नाममा दर्ता गराउन प्रकृया अघि बढाएका बखत आफु जनप्रतिनिधिको हैसियतले प्रकृया रोक्का गरिदिएको बताए । तर पछि आफुहरु समेतलाई थाहा नदिई षडयन्त्रपूर्वक किर्ते गरी २०६५ सालमा तेजलाल राजवंशीले सो जग्गा दर्ता गरेको पाइएको बताए । 'यो सरासर नापी र मालपोतका कर्मचारीसँग मिलेमतो गरी एउटी असहाय बृद्धाको सम्पतिमाथि आखा गाडेको बुझिन्छ', पूर्व उपाध्यक्ष राजवंशीले भने । आरोपित तेजलालले भने बिधीकुमारीका पति खोइलाल जिवित छँदै सल्लाह गरेर आफुले सो जग्गा दर्ता गरेको प्रतिक्रिया दिएका छन् ।

Comments