राष्ट्रपतिको अनुमोदन आवश्यक छैन ‒ देउवा

नरेन्द्र बस्नेत ३१ साउन, मोरङ। पूर्व प्रधानमन्त्री एंव नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले राष्ट्रपतिको अनुमोदन आवश्यक नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुरा गर्दै नेता देउवाले यहि राष्ट्रपति रहिरहने हो भने अनुमोदनको कुनै अर्थ नभएको बताए। नयाँ राष्ट्रपति तथा उपराष्ट्रपति बनाउँदा मात्र अनुमोदन जरुरी रहेको भन्दै नेता देउवाले वर्तमान राष्ट्रपति रहिरहने हो भने अनुमोदनको कुरा उठाएर समय खेर फाल्न नहुने उल्लेख गरे। उनले एमालेसँग भएको सात वुँदे सहमतिमा नयाँ संविधान बनेपछि मात्र राष्ट्रपति परिवर्तन गर्न सकिने उल्लेख भएकाले अहिले अनुमोदन आवश्यक नभएको प्रष्ट पारे । एक प्रश्नमा नेता देउवाले संविधान जारी नभएसम्म बर्तमान सरकार परिवर्तन नहुने बताए । उनले सरकार परिवर्तनको खेलमा लागे फेरि पनि संविधान नबन्ने भएकाले नयाँ संविधान जारी नभएसम्म यहि सरकार रहि रहने बताए। नेता देउवाले केहि दिन ढिलो भएपनि यसपटक संविधान जारी गरेरै छाड्ने दावी गरे। उनले भने, 'आगामी माघ-८ गतेको साटो केही समय तलमाथि भएपनि यसपटक जसरी भएपनि सहमतिमा संविधान जारी हुन्छ।' संविधान जारी गर्ने मिति भन्दापनि जनतालाई संविधान चाहिएकाले नयाँ संविधान आउनेमा ढुक्क रहन उनले सवैलाई आग्रह गरे । उनले नेकपा-माओवादीले उठाएको सर्वपक्षीय गोलमेच सम्मेलनले समस्याको सामाधान नहुने बताए। दुई-दुईपटक संविधान सभाको निर्वाचन भइसकेकाले गोलमेच सम्मेलनको कुरा गरेर संविधान निर्माणमा अड्को थाप्न नहुने बताए।

Comments