सिम्रिक डान्स एकाडेमीको वार्षिर्कोत्सव सम्पन्न

गौरव पोखरेल, ३ भदौ, सुरुङ्गा। झापा बिर्तामोडस्थित सिम्रिक डान्स एकाडेमीले आफ्नो प्रथम वार्षिर्कोत्सव एक सांस्कृतिक कार्यक्रमका बीच सम्पन्न गरेको छ । सोमबार साँझ एकाडेमीको सभा हलमा भएको बृहत कार्यक्रमका बीच एकाडेमीको वार्षिर्कोत्सव सम्पन्न भएको हो । आफ्नो स्थापना कालको छोटो समयबाटै नृत्यका विभिन्न विधाहरु लोक, सांस्कृतिक, आधुनिक एवम् हि-पप, कन्टेम्पोरेरी, साल्सा, लगायतका विधाहरुमा नृत्यका पारखी विद्यार्थीहरुलाई प्रशिक्षण दिँदै आएको उक्त एकाडेमीको प्रथम वार्षिर्कोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वरिष्ठ संगीतकर्मी कृष्ण योञ्जनले झापामा संगीत र नृत्यको समग्र अवस्थाबारे चित्रण गरेका थिए । कार्यक्रममा संगीतकर्मी हस्त परियार, नृत्य कलाकार संघ झापाका सचिव प्रशिक्षक एल.सी. श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्दै झापामा संगीत एवं नृत्यको विकास क्रमको विषयमा विश्लेषण गरेका थिए । कार्यक्रममा झापाली संगीत एवं नृत्य क्षेत्रको समग्र विकासका लागि झापाका कलाकारहरुले खेल्नु पर्ने भूमिकाको बारेमा छलफल समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन कनकाई उच्च माध्यमिक विद्यालय सुरुङ्गाका शिक्षक समेत रहेका एकाडेमीका प्रोप्राइटर निकुञ्ज शर्माले गरेका थिए ।

Comments