संविधान निर्माणको सम्भावना न्यून - थापा

१५ भदौ, दमक। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले आगामी माघ ८ गते भित्रमा नयाँ संविधान निर्माण हुने सम्भावना कम हुँदैगएको बताएका छन् । समयमै संविधान बनाउनु दलहरुको साझा एजेण्डा भएको जोड दिँदै उनले त्यसतर्फ संविधानसभाका पछिल्ला गतिविधिहरु आशलाग्दो नभएको टिप्पणी गरे। उनले कांग्रेस, एमाले, एमाआवादीहरु नै संविधान निर्माणमा जिम्मेवार नभएको आरोप लगाए। आज झापाको दमकमा पार्टीको क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले घोषित समयमै नयाँ संविधान निर्माण गर्न राप्रपा नेपालले रचनात्मक तथा सहयोगी भूमिका निर्वाह गर्ने बताए। संविधानसभामा तीनवटा प्रवृत्ति हावी भएको उनको भनाई थियो । उनले भने, 'कांग्रेस, एमालेको गणितीय कसरत, एमाओवादीको मोर्चाबन्दी र ती सवै मिलेर राप्रपा नेपाललाई निषेध गराउने काम भएका छन् ।' उनले सहमतिमा संविधान नल्याए त्यो आफैंमा घातक हुने बताए। संविधानमा सवैको भावनालाई समेटिएन भने त्यो स्वीकार्य नहुने उनको टिप्पणी थियो । उनले राजा सहितको प्रजातन्त्र, सनातन हिन्दु राज्यलाई पाखा लगाएर संविधान बनाइए त्यसले समस्या आउने चेतावनी दिए। अध्यक्ष थापाले उच्चस्तरिय राजनीतिक सयन्त्र बनाउने काम जायज भएको बिचार राखे। 'संविधानसभामा एमाओवादीले जारी राखेको अवरोधले संविधान निर्माणका काम प्रभावित बनाउने षडयन्त्र हुँदैछ', थापाको जोड थियो । सो अवसरमा पार्टीका केन्द्रीय उपाध्यक्ष धवलशमशेर जवराले राप्रपा नेपालले राष्ट्रियता बलियो बनाउन उठाएका मागलाई सम्बोधन गर्न नखोजिए थप आन्दोलन चर्काउने चेतावनी दिए । उनले सभासदमा गणेश थापालाई पार्टीले गरेको मनोनितको कामलाई गलत अर्थले हेर्न नहुने बताए। 'उहाँ योग्य हुनुहुन्छ, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका अग्रज प्रतिभालाई पार्टीले समेट्दा यसलाई गलत प्रचार गरिनु हुँदैन', आफ्ना कार्यकर्तालाई उपाध्यक्ष जवराले भने। त्यस अवसरमा पार्टी केन्द्रीय सदस्य तथा मेची अञ्चल इन्चार्ज राम थापा, सभासद् सयन्त्र वान्तवा, केन्द्रीय सदस्य भक्ति सिटौला लगायतले बोलेका थिए । पार्टी क्षेत्रीय अध्यक्ष विजय बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टी नगर अध्यक्ष चन्द्र थापा, तोपगाछी अध्यक्ष नरवहादुर पोख्रेल, लखनपुर अध्यक्ष भुवन बुढाथोकी, धरमपुर अध्यक्ष रामचन्द्र बस्नेतले पार्टीको अवस्थाका बारेमा बोलेका थिए । तस्वीर - दमकमा आयोजित भेलामा सम्बोधन गर्दै अध्यक्ष थापा।

Comments