एकथोपा पानीको मूल्य १२० रूपैयाँ

१४ भदौ, दमक। पानीको दोश्रो धनी देश नेपाल, जहाँ ८० प्रतिशत मानिसहरु स्वच्छ तथा सफा पानी पिउनबाट बन्चित छन् । त्यतिमात्र कहाँ हो र ! जति पनि ठाउँमा स्वच्छ पानी वितरण गरिएको छ ती ठाउँमा धारा त जडान गरिएको छ तर पानीको सट्टा हावा सिवाय अरु केही पनि आउन्न । हो यस्तै अवस्था छ, झापाको दमकमा । 'विगत एक-दुई बर्षदेखि धारामा एक थोपा पानी आएको छैन तरपनि प्रत्येक महिनाको न्यूनतम शुल्क तिर्न हामी बाध्य छौं', दमक-११ का डिल्लीश्वर लिम्बूले पानीको बिल देखाउँदै भने, 'खानेपानीमा उजुरी गर्दासमेत सम्बन्धीत पक्ष कानमा तेल हालेर बस्छन् ।' 'पहिला पहिला काठमाडौंमा मात्र यस्तो रहेको सुन्न पाइँन्थ्यो तर आज आफूले नै त्यो दिन भोग्न पर्‍यो', उनले थपे । झापाकै ठूलो एवं बुढो नगरपालिका दमकमा यस्तो समस्या भोग्ने केवल डिल्लीश्वर लिम्बू मात्र हैनन्, हजारौंको संख्यामा छ । 'राती १२ बजे पानी थापिएन भने पानी पिउनै बन्द हुन्छ', दमक १३ की निशा अधिकारी भन्छिन्, 'पानीकै कारण राति अवेरसम्म बस्नु परेको कारण विहान समयमा ड्यूटी जान जहिल्यै धौधौ हुन्छ ।'

Comments