कोहिनुर रुचाइनु श्रीप्रतिको सम्मान

नरेन्द्र बस्नेत। स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ एक कुशल नृत्यकारका साथै राम्रो अभिनेता हुन् । यसमा कसैको दुई मत थिएन र छैन पनि । उनले अभिनय गरेका दर्जनौं चलचित्रमध्ये दुई दर्जनजति चलचित्र सुपरहिटसमेत भएका थिए । उनी आफैं निर्माता बनेर करिब २ बर्षअघि प्रदर्शन भएको कहाँ भेटिएला नामक चलचित्रले पनि सुपरहिटको संज्ञा पायो । उनले त्यही चलचित्रमार्फत आफ्नी जीवनसंगिनी स्वेता खडकालाई समेत पाएका थिए ।
पछिल् लो समय होटल ब्यबसायका साथै चलचित्र निर्माणमा ब्यस्त श्रीकृष्ण र स्वेताको जोडीले पछिल्लो समय निर्माण गरेको चलचित्र कोहिनुर सार्वजनिक प्रदर्शन हुनुअगावै श्रीकृष्णले यो संसार छोडे । संयोग पनि कस्तो बैवाहिक बन्धनमा बाँधिएको १ महिना पुगैकै दिन उनले उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित एक हस्पिटलमा प्राण त्याग गरे । चलचित्र प्रदर्शनको मिति तय भइसकेपछि श्रीकृष्ण जोडी हनिमुनका लागि भन्दै भारतको सिमलातर्फ लागेको थियो । तर हनिमुनको सट्टा श्रीले सबैलाई छोडेर गए । उनको मृत्युपछि उनको अन्तिम संस्कारमा भेला भएका आफन्त, शुभचिन्तक र सरकारले उनीप्रति देखाएको सम्मानले उनी कति महान थिए, त्यो स्पष्ट भएको छ । उनको मृत्युमा सारा नेपाली मात्र हैन उनलाई जान्ने दुनियाँ शोकमा डुबेको छ । हरेक मानिस कति राम्रो थियो भन्ने कुरा मापन मलामीले गर्छन् भनिन्छ । । श्रीको सफलता पनि यसले प्रष्ट्याएको छ ।
श्रीको मृत्युपश्चात पत्नी स्वेता, उनका आफन्त मात्र हैन सिंगो नेपाली जनका आँखामा आँसु अझै ओभाएका छैनन् । यो कुरा उनीद्वारा अभिनित र निर्मित चलचित्र कोहिनुर हेरेपछि अझ स्पष्ट भयो । शुक्रबार बिहान, दिउँसो र बेलुका सबै कोहिनुर लागेका हलहरु हाउसपुल थिए । टिकट नपाएर धेरै दर्शक फर्किंदै थिए । यही बीचमा मसहित केही साथीहरु मोरङको इन्द्रपुरस्थित सुकुना चलचित्र मन्दिरमा पुगेका थियौं । बिहान र दिउँसोका २ वटा सोहरुको टिकट नपाएपछि बल्लतल्ल बेलुकीको सोको टिकट बुक गरियो । जसोतसो हलभित्र छिरियो तर बस्ने ठाँउ थिएन । बालक, युवायुवती बृद्धबृद्धा सबै ओइरिएका थिए हलमा । अहिलेसम्म देशभरबाट करिब डेढ करोड रूपैयाँ बढिको ब्यापार चलचित्रले गरेको जानकारी प्राप्त भएको छ । नेपाली चलचित्रको ब्यापार ओरालो लागेको अबस्थामा यो ब्यापार भनेर 'सुपर डुपर' हो । करोडको ब्यापारमा उक्लन नेपाली चलचित्रलाई हम्मेहम्मे परेको अबस्थामा यो अबस्था नेपाली चलचित्रका लागि सुखद् मात्र होइन सकरात्मक संकेत पनि हो ।
 किन आए त दर्शक हलमा ?
 नेपाली चलचित्र लाग्यो कि एउटा शोमा बढीमा २ सय मानिस छिर्ने सुकुना हलका सञ्चालक अनिल खड्का यो चलचित्रले कमालै गरेको बताउँछन् । 'यो बर्ष यति धेरै भिड यो हलमा कहिले देखेको थिइनँ', उनी भन्छन्, 'अझै एक दुई हप्ता चलचित्रको ब्यापार यस्तै हुने निश्चित छ ।' एक त श्रीकृष्णको अन्तिम चलचित्र, अर्को त उनको बेजोड अभिनय क्षमता र अर्को सहानुभूति यिनै कारणले यो फिल्म यसरी चलेको उनी तर्क गर्छन् ।

चलचित्र हेर्न मोरङको डाँगीहाटबाट करिब १५ किलोमिटरको यात्रा तय गरेर अबिरल बर्षामा रुझ्दै आएकी सुस्मिता उप्रेतीले 'खै किन किन हिन्दी मात्र हेर्ने बानी भएपनि यो चलचित्रले आफ्नो ध्यान तानेको र चलचित्र एकदमै राम्रो लागेको' प्रतिक्रिया दिइन् । चलचित्रमा राम्रो के नराम्रो के भन्नुभन्दा पनि यो चलचित्र हेर्नु श्रीप्रतिको आफ्नो सम्मान भएको उनले बताइन् । हुन पनि उनीजस्ता करिब ५ हजार मानिसले शुक्रबार मात्र सो हलमा चलचित्र हेरेका छन् । समग्रमा चेलिबेटी बेचबिखनलाई मुख्य आधार बनाएर निर्माण भएको चलचित्रमा थुप्रैपटक दर्शकका आँखा रसाए श्रीका संवादले । उनले चलचित्रमा मृत्युसम्बन्धी थुप्रै संवाद पनि बोलेका छन् ।
नेपालमा निर्माण हुने आम चलचित्रले उठाएका विषयवस्तुभन्दा चलचित्र खासै फरक नरहेपनि कोहिनुर श्रीप्रतिको आमदर्शकको सम्मानले चलचित्रले उत्कृष्ट हुने अवसर प्राप्त भएको छ । यो उनीप्रति हामी सबैको सम्मान पनि हो ।
 अन्त्यमा मृतआत्माको चीरशान्तिको कामनासहित शोकसन्तप्त परिवारप्रति हार्दिक समबेदना ।

Comments