मामाचेलाको जग्गा फुपुचेलाले खाए

तेज बन विश्वासी, १३ भदौ, सुनसरी। सुनसरी महेन्द्रनगर ७ मा रहेको ४ करोड रूपैयाँ बढि मुल्य पर्ने जग्गा जग्गाधनीकै आफन्तबाटै किर्ते गरी बेजिल्ला पास गरेको खुलासा भएको छ । महेन्द्रनगरमा रहेको ७ बिगाहा ६ कठ्ठा ३ धुर जग्गा किर्ते गरी २०३९ सालमा पास भएको खुलासा भएको हो । सुनसरी तरहराका शुरबहादुर भट्टराईका आफ्नै फुपुका छोरा बिराटनगर बस्ने शंकर थापाले धनकुटा जिल्ला मालपोत कार्यालयमा बेजिल्ला किर्ते कागजात तयार गरी आफ्नो नाममा पास गरेको पिडित परिवारले जनाएको छ । पिडित शुरबहादुरको परिवारले जग्गा रहेको स्थान महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी सो कुराको खुलासा गरेका हुन् । थापाले आफ्नै आमा चिजकुमारी थापा र सानीआमा चम्फादेवी थापालाई म आफैं शूरबहादुर हुँ भनी धनकुटा मालपोत कार्यलयमा बकस पास गरिदिएको पिडित शुरबहादुरका ज्वाईं दिलबहादुर कटुवालले बताए । उनले पासै नभएको जग्गालाई पास भएको भनेर किर्ते गरेको कारण सबै कागजाहरुबाट थाहा भएका कारण सम्बन्धीत जग्गावाल भट्टराईले अब आफ्नै जग्गामा बस्ने दाबी गरेका छन । कटुवालले जग्गाका बिषयमा सम्बन्धीत निकायहरुले छानबिन गरी पिडित परिवारलाई न्याय दिनुपर्ने बताए । सो जग्गा वि.सं. २०२६ सालको जग्गा नापी आउँदा शुरबहादुरको नाममा नाप नक्शा गरिएको थियो । तर पनि उनले आफ्ना काका बेनीबहादुर भट्टराईलाई सो जग्गा जिम्मा लगाएका थिए । जग्गा जिम्मा लगाएर कामका लागि भारत पुगेका भट्टराई २०५४ सालमा सुनसरी फर्किएका थिए । भट्टराईको जग्गा थापाले आफ्नो भनेर दाबी गरेपछि बर्षौंदेखि सो जग्गा कमाउँदै आएकाहरुले समेत जग्गा कमाएबापत अधियाँ तिरेका छैनन् । जग्गा कमाउँदै आएका रामलाल उरावले पनि अहिलेसम्म आफुले कसैलाई जग्गाको आधा कमाई नदिएको बताए । उनले जग्गा शुरबहादुरको हो किर्ते गरी थापाले आफ्नो हो भनेपनि कुनै हालतमा सो जग्गा थापाको हुन नसक्ने बताए ।

Comments