नक्कली सुनका गहना बनाई सर्वसाधारणलाई ठग्ने पक्राउ

१४ भदौ, बिराटनगर। नक्कली सुनको गहना बनाई बिक्री गर्ने गिरोहका नाइकेलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । क्षेत्रीय प्रहरी कार्यालय, बिराटनगर बिशेष शाखाबाट खटिएको प्रहरीले नक्कली सुनका गहना बनाई पहाडी जिल्लाहरुमा बिक्री गर्ने बिराटनगर उपमहानगरपालिका ३ का २५ वर्षिय सुनिल सोनीलाई शुक्रबार पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले एक तोला बराबरको नक्कली सुनको बालासमेत बरामद गरेको छ । ठगी गिरोहका नाइके सुनिल सोनीले बिराटनगरमा नक्कली सुनका गहना बनाउने र सो गहना इन्दिरा राई र गिरोहका अन्य सदस्यमार्फत उनीहरुले व्यापारिक केन्द्रबनाएको बिकट पहाडी जिल्लाहरुमा लगी बजार मूल्यभन्दा सस्तोमा बेच्ने, धरौटीमा राख्‍ने र सोबाट प्राप्त रकम IME मार्फत एक आपसमा बाँडफाँड गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। गिरोहले पचासभन्दा बढी नक्कली सुनका बिभिन्न गहनाहरु बनाई व्यापारको केन्द्रबिन्दु बनाएका पहाडी जिल्लाहरुमा बिक्री गरेको सहनीले स्वीकारेका छन्। प्रहरीले अनुसन्धानका क्रममा इन्दिरा राईलाई केही दिनअघि धनकुटाबाट पक्राउ गरेको थियो । नक्कली गहनाहरुमा चौविस क्यारेट गोल्ड लेखिने हुँदा सामान्य रुपमा सुन ब्यवसायीलेसमेत सो गहना नक्कली वा सक्कली पहिचान गर्न नसक्ने भएकोले सोझा साझा जनताले सहजै किन्ने गरेको समेत अनुसन्धानबाट खुलेको छ। धनकुटा नगरपालिका १ का सुन, चाँदी व्यवसायी कभिनाथ बिश्बकर्माले केही दिनअघि सो गिरोहका सदस्यबाट चालिस हजारमा किनेको एक तोला बराबरको सुनको बाला परीक्षण गर्दा नक्कली भेटिएपछि आफू ठगिएको थाहा पाएका थिए । आफू ठगिएपछि उनले जिल्ला प्रहरी कार्यालय धनकुटामा सोबारे उजुरी दिएका थिए । उनले दिएको उजूरीको आधारमा प्रहरीले थप अनुसन्धानपश्चात ठगी गर्ने गिरोहका नाइकेलाई बिराटनगरमा पक्राउ गरेको हो । यससम्बन्धमा बोल्दै क्षेत्रीय बिशेष शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले नक्कली गहना बनाई सोझा साझा जनता ठग्ने गिरोहको नाइके पक्राउ पर्नु प्रहरीको ठुलो उपलब्धी भएको र आगामी दिनमा समेत यस्ता गिरोहलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन प्रहरी सक्रिय रहेको बताएका छन्। उनले सस्तोमा पाउने भन्दैमा सुन जस्तो वहुमुल्य धातु परीक्षण नगरी खरिद बिक्री नगर्न समेत सर्वसाधारणलाई अनुरोध गरे।

Comments