सुरुङ्गा प्रेस क्लबका अध्यक्ष खरेल सम्मानित हुने

१२ भदौ, सुरुङ्गा। नेवाः पुचः (संघ) सुरुङ्गाले आफ्नो ५ औं अधिवेशनको अवसर पार्दै सुरुङ्गा प्रेस क्लबका अध्यक्ष तीर्थराज खरेललाई सम्मानित गर्ने भएको छ । पत्रकारिताको क्षेत्रमा संलग्न रहेर निरन्तर रुपमा स्थानीय, खोजमूलक एवम् अनुसन्धानात्मक समाचार सम्प्रेषण गरी कनकाई नगर क्षेत्रको समग्र प्रचार प्रसार एवम् विकासमा पुर्‍याएको उच्च योगदान स्वरुप खरेललाई संघले सम्मानित गर्न लागेको हो । खरेल पूर्वाञ्चल दैनिकका सुरुङ्गा सम्वाददाता हुन् । कनकाई नगरका आम नागरिकहरुको भावना तथा स्थानीय संघसंस्थाहरुको समर्थन र सहकार्यमा नेवार जातिको भाषा, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यका साथ गठित नेवाः पुचः सुरुङ्गाले खरेललाई आदिवासी-जनजातिको पहिचानको पक्षमा दृढतापूर्वक उभिँदै सदैव सकारात्मक सहयोग पुर्‍याएको भन्दै सम्मानित गर्न लागेको नेवाः पुचः सुरुङ्गाका अध्यक्ष रत्नकुमार श्रेष्ठले जानकारी दिए । पर्सी शनिबार आयोजना हुने नेवाः पुचः सुरुङ्गाको पाँचौं वाषिर्कोत्सवमा संस्थालाई सहयोग गर्ने मोहनकुमार श्रेष्ठ, मेनुका श्रेष्ठ, जीतबहादुर श्रेष्ठ, तिलकबहादुर श्रेष्ठ, रेवत श्रेष्ठ र प्रेमबहादुर श्रेष्ठलाई पनि सम्मान गर्न लागिएको संस्थाका सल्लाहकार भरतकुमार श्रेष्ठले बताए । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको सभाहलमा सम्पन्न हुने उक्त कार्यक्रम नेवाः देयः दबुः झापाका अध्यक्ष कृष्ण उदासको प्रमुख आतिथ्य रहने बताइएको छ ।

Comments