तेज वन विश्वासी,
३१ साउन, सुनसरी।
फर्जी विद्यार्थी राखेर विद्यालय सञ्चालन गरेको उजुरी परेपछि सुनसरीका १६ वटा विद्यालयहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ ।
सुनसरीको इटहरीबाट ३, धरानबाट ७, हाँसपोसाबाट २ इनरुवाबाट ३ र एकम्बाबाट १ विद्यालय गरी १६ विद्यालयहरु अख्तियारको छानविनमा परेका हुन् ।
जिल्ला शिक्षा कार्यालय सुनसरीलाई गत साउन १९ गते नै विद्यालयको गतिविधिको विषयमा पत्र काटेर जानकारी गराएपनि अविरल वर्षाका कारण अख्तियारले साउन ३० गतेवाट मात्रै विद्यालयहरुमा छानविनको कार्यक्रमहरु सुरु गरेको थियो ।
छानविनमा परेका विद्यालयहरुले दिएको विद्यार्थी संख्या र गणना संख्यामा फरक भेटिएपछि अख्तियारले छानविन प्रकृया अगाडि बढाएको जिल्ला शिक्षा कार्यालय सुनसरीका शिक्षा अधिकारी तुलसीनारायण अधिकारीले बताए ।
छानविनको क्रममा सुनसरीका १६ वटै विद्यालयहरुमा स्पष्टिकरणका लागि पत्र काटिसकेको र आइतवारदेखि बयान लिने कार्यक्रम रहेको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले बताए । १६ वटा विद्यालयहरुमध्ये केही विद्यालयहरुसँग स्पष्टिकरणका लागि बयान लिने क्रम जारी रहेको आयोगका प्रवक्ता श्रीधरले बताए ।
यसैबीच छानविनको क्रममा सुनसरीको हाँसपोसा ४ स्थित श्री पञ्चायत रजत जयन्ती निमाविका प्रधानाध्यापक दिपनारायण साहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अख्तियारले खुलासा गरेको छ । बढुवा प्रयोजनका लागि प्रधानाध्यापक साहले शिक्षा मन्त्रालयमा पेस गरेको प्रमाणपत्र भारतको बिहारबाट ल्याइएकोले नक्कली पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धानका प्रवक्ता श्रीधरले बताएका छन् ।
बढुवा प्रयोजनका लागि प्रअ साहले बिहारको पटनास्थित इन्टरमिडियट एजुकेसन काउन्सीलबाट आई ए उत्तीर्ण गरेको प्रमाणपत्र शिक्षा मन्त्रालयमा पेश गरेको अखितयारले जनाएको छ ।
नक्कली प्रमाणपत्र पेस गर्ने प्रअ साहविरुद्ध शैक्षिक नियमावली अनुसार कानुनी कार्वाही अगाडी बढाइने अख्तियारका प्रवक्ता श्रीधरले बताए ।
Comments
Post a Comment