पाणिनीमा लामो समयपछि दुवै समिति गठन

१३ भदौ, दमक। लामो समयदेखि विवादित रही गठन प्रकृया अवरूद्ध रहेको झापाको दमक १५ स्थित पाणिनी माविको विद्यालय व्यवस्थापन समिति गठन भएको छ । आज भएको अभिभावक तथा सामाजिक अगुवाहरूको भेलाले पर्शुराम रिजालको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ ।
सर्वसम्मत रूपमा चयन भएको समितिका सदस्यहरूमा चन्द्र थापा, केशर पोखरेल, दिपक फुयाँल, कैलाश पौडेल, अनिल मगर र कविता सापकोटा रहेका छन् । समितिको एक सदस्य शिक्षकहरूमध्येबाट र प्रधानाध्यापक सदस्य सचिव रहने प्रावधान छ ।
सोही भेलाले शान्तिराम भट्टराईको अध्यक्षतामा १० सदस्यीय शिक्षक अभिभावक संघसमेत गठन गरेको छ । कार्यक्रममा निवर्तमान विव्यस अध्यक्ष राजेन्द्र भण्डारी, शिअसंघका निवर्तमान अध्यक्ष भवानी दहालका साथै पर्शुराम काफ्ले, चन्द्र थापा, शान्तिराम भट्टराई, उमाकान्त आचार्य, तिलक डाँगी, असिम राई लगायतले विद्यालय व्यवस्थापन समितिको गठन प्रकृयाका बारेमा बोलेका थिए । गएको जेठमै पदावधि सकिएका दुवै समितिको गठन प्रकृया विभिन्न कारणले अवरूद्ध हुँदैआएको थियो ।
दुवै समिति चयनअघि भएको सो कार्यक्रममा विद्यालयका एक दर्जन बढि छात्रछात्राहरूलाई छात्रवृत्ति रकम समेत प्रदान गरिएको थियो । नेपाल सरकारद्वारा उपलव्ध मावि प्रोत्साहन छात्रवृत्ति रकमअन्तर्गत कक्षा १० का ५ छात्रा र ७ छात्र तथा कक्षा ९ का तीन जना छात्राहरूलाई जनही १ हजार ७ सय रूपैयाँ छात्रवृत्ति रकम प्रदान गरिएको थियो ।
सोही कार्यक्रमा २०७० सालको प्रवेशिका परीक्षामा प्रथम हुने प्रतिमा खड्कालाई विभिन्न दाताहरूद्वारा स्थापित ४ वटा छात्रवृत्ति प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । प्रवेशिका परीक्षामा ७७ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेकी छात्रा खड्कालाई दुर्गादेवी खनाल प्रोत्साहन पुरस्कार, भिष्म काफ्ले स्मृति छात्रवृत्ति कोष पुरस्कार, सुरज बुढाथोकी छात्रवृत्ति कोष पुरस्कार र ज्ञानमाया देवी दहाल स्मृति छात्रवृत्ति कोष पुरस्कारवापत क्रमसः २,५००, २०००, १००० र १०२५ रूपैयाँ प्रदान गरिएको थियो । विद्यालयका शिक्षकद्वय ठाकुरहरि पोख्रेल र दुर्गाबहादुर कटुवालले सञ्चालन गरेको कार्यक्रम विद्यालयका प्रधानाध्यापक टिकाराम भण्डारीको अध्यक्षतामा भएको थियो ।

Comments