एउटा रूख काटे पाँचवटा रोप्ने अभियानको घोषणा

१४ भदौ, बिर्तामोड। एउटा रुख काट्दा पाँचवटा रुख रोप्ने योजनालाई अभियानका रुपमा सञ्चालन गर्ने इलामका काष्ठ व्यवसायीहरुले घोषणा गरेका छन् । बिर्तामोडस्थित अतिथि सदनमा आज शनिवार आयोजित पूर्वेली काष्ठ व्यवसायी संघ इलामको प्रथम साधारण सभामा यस्तो घोषणा गरिएको हो । नेपालको प्रमुख धनका रुपमा परिचित वनलाई प्रमुख पेशा बनाएको संघले दीगो विकासको अवधारणा अनुसार वन जंगलको संरक्षण गर्ने र यसका लागि जनचेतनामूलक कार्यक्रम पनि सँगसँगै लैजाने बताइएको छ । वन कार्यालय इलामका सहायक वन अधिकृत वशिष्ठनारायण मिश्रको प्रमुख आतिथ्यमा आयोजित साधारण सभामा संघले वनजंगलको अवैध फडानीलाई निरुत्साहित गर्दै विद्यालयहरुमासमेत वन तथा वातावरणका विषयमा चेतनामूलक शैक्षिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष नगेन राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष शेरवहादुर कडरियाले स्वागत गरेका थिए । त्यस अवसरमा संघका प्रमुख सल्लाहकार श्याम खड्गी, नेपाली कांग्रेसका इलाम जिल्ला सदस्य कृष्ण खाती, व्यवसायीहरु कृष्ण श्रेष्ठ र भक्त लुङ्गेली, संघीय लिम्वूवान राज्य परिषदका डम्वर लोलिङ्देन लगायतले मन्तव्य राखेका थिए । अमिर कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन पुष्पराज दाहालले गरेका थिए । सोही साधारण सभाले पुनः नगेन राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । संघको वन्द सत्रपछि भएको निर्वाचन प्रक्रियावाट चयन भएको नेतृत्वमा प्रथम उपाध्यक्ष शेरवहादुर कडरिया, द्वितीय उपाध्यक्ष उदय भण्डारी, महासचिव होम पौडेल, सचिव पुष्पराज दाहाल, कोषाध्यक्ष अमिर कार्की र सहसचिवमा एकराज घिमिरे रहेका छन् । त्यस्तै सदस्यहरुमा दीपेन्द्र कार्की, देउकुमार राई, जनम राई, पुरन वराल, लीला सुव्वा, भोगेन्द्र तिम्सिना चयन भएका छन् । सोही साधारण सभाले प्रमुख सल्लाहकार मण्डलमा श्यामकुमार खड्गी, डम्वरकुमार लोलिङ्देन, शैलेस भट्टराईलाई चयन गरेको छ ।

Comments