डिकेश लामा,
३ भदौ, बेलडाँगी।
केही दिनयता परेको भारी बर्षाको कारण मावा खोलामा आएको बाढीले दमक वडा नं. ५ को नयाँ बस्तीमा लगाएको बाँध कटान शुरु गरेको छ ।
वि.सं. २०६७ सालमा स्थापित बाँध तथा नयाँ बस्तीलाई यस बर्षको वाढीले जोखिममा पारेको स्थानीय मावा खोला जग्गाकटान तथा रोकथाम समिति सदस्य लाखजित नेम्बाङ्गले बताए। करिव ८ सय मिटर लामो दक्षिण उत्तर बाँधमा ४ स्थानमा खोलाले कटान शुरु गरेको स्थानीय महिला जसमाया मगरले बताइन्। खोलाले भक्त बहादुर बाँधलाई धेरै कटान गरेको र सो स्थानबाट खोला पसे दमक वडा नं. ७ का धेरै बस्तीमा समस्या आउने बताइएको छ ।
केही दिनयता खोलामा आएको बाढीले बाँधमा कटान शुरु गरेपछि सो क्षेत्रमा बसोवास गरेका करिव ३६ घर परिवार चिन्तित बनेका पीडित कृष्णमाया दासले बताइन् । पीडित नयाँ बस्तीका बासिन्दाको अनुसार राति होस् या दिन खोलामा बाढी आएपछि खोलाको गोठालो लाग्नुपरेको छ ।
गत मंसिर महिनामा आगलागीमा परी सर्वस्व गुमाएका नयाँ बस्तीका बासिन्दालाई खोलाले समस्यामा पारेपछि थप चिन्तित बनेका छन् । मावा खोला जग्गा कटान तथा रोकथाम समिति सदस्य नेम्बाङका अनुसार विगत लामो समयदेखि कुनै पनि नदी नियन्त्रणसम्बन्धी कार्य गर्ने संघ संस्थाले सो क्षेत्र नहेरेको बताइएको छ । करिव १५ लाख बराबरको खर्चमा ४ बर्षअघि ग्रामिण पूनर्निर्माण संस्थाको सहयोगमा लगाएको बाँधमा यो बर्ष खोला कटान शुरु भएपछि बस्ती मात्र नभई दमक नगरका धेरै क्षेत्रमा असर पुग्न सक्ने खतरा रहेको पीडितहरुले बताएका छन् ।
जोखिम क्षेत्रबाट बाँध फुटे नयाँ बस्तीमा मात्र असर नभई दमक वडा नं. ७ को दक्षिण भागमा असर पुग्ने स्थानीय बासिन्दाहरुले बताएका छन् ।
Comments
Post a Comment