मिस झापा २०१४ मा १८ जनाले प्रतिष्पर्धा गर्दै, विजेतालाई एयर होस्टेजको जागिर

७ भदौ, बिर्तामोड। बीरता जेसीजको आयोजनामा हुन लागेको बास्किन रविन्स मिस झापा २०१४ का लागि १८ जना प्रतियोगी छनौट भएका छन् । मिस झापाका प्रतियोगीहरुको प्रशिक्षण आजबाट बिर्तामोडमा शुरु भएको छ । प्रतियोगीका अभिभावकहरुसँगको अन्तरक्रिया समेत गरिएको कार्यक्रमसँगै मिस झापाका प्रतियोगीलाई प्रशिक्षण दिन शुरु गरिएको हो । बीरता जेसीजका कार्यवाहक अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष महेश दाहालले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका दाहाल, कोरियोग्राफरहरु स्वास्तिका राजभण्डारी र सलिना राईले सहभागीलाई प्रशिक्षण दिनेछन् । उद्घाटन समारोहमा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष प्रकाश अधिकारीले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संयोजक प्रकाश सुवेदीले स्वागतसहित कार्यक्रममाथि प्रकाश पारेका थिए भने आस्था वाचन कोषाध्यक्ष भक्तराज भारती र सञ्चालन महासचिव राजिव धिमालले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि दाहाललाई बीरता जेसीजका तर्फबाट कार्यवाहक अध्यक्ष एकराज गिरीले मायाको चिनो प्रदान गर्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । भदौ २७ गतेसम्म प्रशिक्षण सञ्चालन हुने र २८ गते मिस झापाको फाइनल प्रतियोगिता हुने सञ्चार संयोजक विनोद पाण्डेले जानकारी दिए। प्रतियोगिताकी विजेता मिस झापालाई ५१ हजार रूपैयाँ नगद तथा ट्रफी प्रदान गरिनेछ भने हिडेन ट्रेजरले आयोजना गर्ने मिस नेपालको टप ट्वान्टीमा प्रत्यक्ष सहभागी गराइने छ । प्रतियोगिताको फस्ट रनरअपलाई ३० हजार रुपैयाँ र सेकेन्ड रनरअपलाई १५ हजार रुपैयाँ तथा ट्रफी प्रदान गरिने बीरता जेसीजले जनाएको छ । प्रतियोगिताभरबाट उत्कृष्ट एक जनालाई एयर होस्टेजको जागिर दिइने बीरता जेसीजका अध्यक्ष बिशाल थापाले बताए।

Comments