दमक नगरपालिकाको समिक्षा

८ भदौ, दमक । दमक नगरपालिकाले आर्थिक बर्ष २०७०/०७१ मा गरेका गतिविधिको समिक्षा गरेको छ । शनिबार नगरपालिकामा भएको कार्यक्रममा बर्षभरी भए गरेका कामको समिक्षा गरिएको हो । कार्यकारी अधिकृत नुरहरि खतिवडाले बार्षिक समिक्षा गोष्ठीमा आन्तारिक आय, बाह्य आय, सामाजिक पूर्वाधार, लक्षित वर्ग कार्यक्रम, नगरपालिका कार्यालयबाट प्रदान गरिएको सेवाहरु, योजनाहरुको प्रगति लगायतका बिषयको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपालले अन्य क्षेत्रको नगरपालिका भन्दा दमक नगरपालिका सुन्दर रहेको बताए । उनले आफ्नो शहर सुन्दर बनाउन अरु कोही नआउने हुँदा यहाँका बासिन्दाहरुलाई बिकासमा जुट्न आग्रह गरे। प्रमुख जिल्ला अधिकारी नेपालले नगर भित्रको नदी नियन्त्रण र दैविक प्रकोप नियन्त्रणमा लाग्न अनुरोध गरे। दमकलाई रतुवा र मावा खोलाले घेरेको हुँदा तिनीहरुको नियन्त्रण नगरे यहाँका संरचना सुरक्षित नहुने नेपालको भनाई छ । कार्यक्रममा नगरपालिकाका पूर्व मेयर इन्द्र बहादुर बुढाथोकीले बिकासका कार्यक्रम गरेपछि त्यसको अनुगमनलाई निरन्तरता दिनु पर्ने बताएका थिए । खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकका अध्यक्ष पशुपति गौतमले बाल बच्चा र विद्यार्थी हिँड्ने सडकको पेटी निर्माण गर्न सुझाव दिएका थिए । पत्रकार मञ्च दमकका अध्यक्ष बिष्णु पोखरेलले दमक १२ को अब्यवस्थित डम्पिङ साइटमा फालिएको फोहोर दुर्गन्धले त्यस वडाका बासिन्दा समस्यामा परेको बिषयलाई वेवास्ता गरिएको बताएका थिए । झुलभित्र बसेर बालबच्चालाई खाना खुवाउनु परिरहेको हुँदा त्यस ठाउँमा लामखुट्टे नियन्त्रणका कार्यक्रम ल्याउन उनले सुझाव दिए । हम्सेदुम्से सामुदायिक वन उपभोक्ता समिति दमकका अध्यक्ष हिमालय प्रसाद दाहालले दमकमा पर्यटन क्षेत्रको सम्भावना धेरै भएको हुँदा पर्यटन प्रवर्द्धनका कार्यक्रम ल्याउन नगरपालिकासँग माग गरे । टोल बिकास संस्था नगर समन्वय समिति दमकका सचिव नारायण घिमिरेले टोल बिकास संस्थालाई थप प्रभावकारी बनाउन माग गरेका थिए । टोल विकास संस्था समन्वय समिति दमक १३ का अध्यक्ष मदन अधिकारीले नगरपालिकाले कृषि क्षेत्रमा लगानी बढाउनु पर्ने धारणा राखेका थिए । कार्यक्रममा सरस्वती उच्च मावि दमक १४ का प्राचार्य दिलिप श्रेष्ठ, सामाजिक अगुवा नारद घिमिरे लगायतले शिक्षा क्षेत्रमा ठोस बजेट तथा नीति कार्यक्रम ल्याउन सुझाव दिएका थिए ।

Comments