चार सञ्चारकर्मी पुरस्कृत हुने

नरेन्द्र बस्नेत, ७ भदौ, मोरङ। मोरङ उर्लाबारीस्थित सञ्चार क्लब नेपालले यस बर्षदेखि प्रदान गर्न लागेको लिला-गोमा आचार्य पत्रकारिता पुरस्कार यसबर्ष चारजना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ । क्लबको आज बसेको बैठकले सक्रिय पत्रकारिता पुरस्कारबाट मोरङ पथरीका सन्तोष राई, उर्लाबारीका ज्योति शर्मा र उदीयमान पत्रकारिता पुरस्कारबाट मोरङ हसन्दहकी मुना तामाङ र बेलबारीकी अनु निरौलालाई प्रदान गर्ने निर्णय गरेको छ । क्लबको नवौँ साधारणसभाको अवसरमा यही भदौ २७ गते उनीहरुलाई सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय भएको क्लबका अध्यक्ष रुपेन्द्र सेर्माले जानकारी दिए। चारै जनालाई प्रदान गरिने पुरस्कारको राशी नगद २ हजार ५ सय र सम्मान पत्र रहेको छ । क्लबले यो पुरस्कार पूर्वी मोरङमा क्रियाशील पत्रकारहरुलाई प्रदान गर्न लागेको हो । लिला-गोमा आचार्य पुरस्कार उर्लाबारी-४ का समाजसेवी जयधर्म आचार्यले आफ्ना स्वर्गीय आमा लिलादेवी आचार्य र धर्मपत्नी गोमा आचार्यको संयुक्त नामबाट स्थापना गरेका हुन् । पुरस्कारको लागि उनले नगद १ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका थिए । सोही कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरुलाई पनि सम्मान गर्ने निर्णय भएको छ । पूर्व अध्यक्षहरु दुर्गाप्रसाद खतिवडा, जगन्नाथ भट्टाराई, मनदबाबु प्रसाईं, केदार चौहान र घनश्याम भण्डारीलाई क्लबमा विशेष योगदान पुर्‍याएको भन्दै सम्मान गर्न लागेको क्लबका अध्यक्ष सेर्माले बताए।

Comments