इबोला भित्रिन नदिन सुनसरी र मोरङमा उच्च सतर्कता

१३ भदौ, सुनसरी, मोरङ । अतिघातक सरुवा रोगको रुपमा देखिएका इबोला रोगको सङ्क्रमण नेपालमा छिर्न नदिन विराटनगर नाकामा 'हेल्प डेस्क' सञ्चालनको माग गरिएको छ । विराटनगर नाकाभएर भारतबाट दैनिक हजारौं मानिसहरु भित्रिने गरेकाले इबोला रोग भित्रन नदिनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्य विभाग रोग नियन्त्रण महाशाखासमक्ष 'हेल्प डेस्क' सञ्चालनका लागि माग गरेका हुन् । यस सम्बन्धमा जिल्ला जनस्वास्थ्य कार्यालयका निमित प्रमुख विनोद भण्डारीले भारतको विभिन्न सहरहरुबाट आउने मानिसहरुमध्ये शङ्कास्पद अवस्थामा देखिएका व्यक्तिहरुको स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरण र औषधिसमेत माग गरिएको बताए। इबोला रोग अत्यन्त घातक रहेकाले यस विषयमा व्यापक रुपमा जनचेतना फैलाउने कार्यमा भइरहेको कार्यालय प्रमुख भण्डारी बताउँछन् । उनी भन्छन्, 'अति सङ्क्रमित इबोला रोग लागेमा उच्च ज्वरो आउने, टाउको, घाँटी र जोर्नी र पेट दुख्नुका साथै आँखा रातो हुने, झाडापखाला हुने आदि लक्षण देखिन्छ ।' यस्तै इबोला भाइरसको संक्रमण भित्रिन नदिनको लागि सुनसरीमा उच्च सतर्कता अपनाइने भएको छ । जिल्ला प्रसाशन कार्यालय सुनसरीको आदेशमा सुनसरीको नाकाहरुमा उच्च निगरानी गर्न बिशेष सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । भारतसँग सीमा जोडिएका सुनसरीका सबै नाकाहरुमा इबोलाबारे आवश्यक प्रचार प्रसार तिब्र पारिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी सुदर्शनप्रसाद ढकालले बताए। सुनसरीको सीमा क्षेत्रहरुबाट बढी मात्रामा भित्रने बिदेशी पर्यटकहरुलाई मध्यनजर गर्दै त्यस्ता नाकाहरुमा उच्च सतर्कता अपनाइएको प्रजिअ ढकालले बताउँछन् । भारतसँग सिमाना जोडिएको सुनसरीको भण्टावारी, कप्तानगञ्ज, देवानगञ्ज, हरिपुर लगायतका स्थानहरुमा तत्काल हेल्प डेस्क स्थापनाका लागि नेपाल सरकारको गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पत्रचार गरिसकिएको ढकालले जानकारी दिए ।

Comments