दमक उवासंघको साधारणसभाको तयारी पूरा

३ भदौ, दमक। यही भदौ ६ गते शुक्रवार हुने दमक उद्योग वाणिज्य संघको २३औं वार्षिक साधारणसभाको तयारी पूरा भएको छ । स्थानीय नेपाल रेडक्रस सोसाइटी उपशाखाको सभाहलमा विहान ११ वजेदेखि शुरु हुने साधारणसभा तथा स्थापना दिवसको तयारी पूरा भएको संघले जनाएको छ । संघका अनुसार साधारणसभाको उद्घाटन गर्न नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजङ पाण्डे आउने भएका छन् । त्यस्तै उद्घाटन समारोहमा महासंघका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान, झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपाल, सशस्त्र प्रहरी वल क्षेत्रीय कार्यालय पकलीका डिआईजी पुष्पराज केसी, महासंघका केन्द्रीय सदस्यहरु नरेन्द्र खड्का, केशव पाण्डे, नरेन्द्र खड्का लगायतका विशिष्ठ अतिथिहरुको उपस्थिति रहने छ। साधारणसभा सम्पन्न गर्न संघका प्रथम उपाध्यक्ष गोकुल श्रेष्ठको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । संयोजक श्रेष्ठका अनुसार साधारणसभाको अवसरमा नै विहान १० वजेदेखि रेडक्रस हलमा रक्तदान र करसम्बन्धी अन्तरकृयासमेत आयोजना गरिएको छ । करसम्बन्धी अन्तरकृयामा करदाता सेवा कार्यालयका प्रमुख दिपक खड्काले सहजीकरण गर्ने संघका कार्यालय प्रमुख निरज विष्टले जानकारी दिए। सरकारले २०७१/७२ मा ल्याएको अध्यादेशमा करका विभिन्न पक्षका बारेमा छलफल हुने विष्टले बताए । उद्घाटन कार्यक्रममा संघले नगरका एक उत्कृष्ठ ब्यवसायी र एकजना पत्रकारलाई सम्मान समेत गर्ने बताइएको छ । त्यस्तै, संघको बन्द सत्रमा आर्थिक प्रतिवेदन, लेखा प्रतिवेदन, वार्षिक प्रतिवेदनहरु प्रस्तुत गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।

Comments