सडक बन्यो भैंसी खेल्ने आहाल (फोटो फिचर)

योगी योगेन्द्र, १५ भदौ, संखुवासभा। संखुवासभा जिल्लाका ग्रामीण सडक भैंसी खेल्ने आहाल जस्तै बनेका छन् । लगातारको वर्षाले जिल्लाका सबैजसो ग्रामीण सडकहरुमा यातायात संचालन गर्न निकै समस्या हुने गरेको छ । सडक विभाग र ठेकेदारले समयमै सडक मर्मत नगरेको कारण ग्रामीण सडक नै भैंसी खेल्ने आहालको रुपमा परिणत हुन पुगेको हो । संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारी जोडिने ग्रामीण सडकहरुमा यात्रा गर्न निकै जोखिमपूर्ण हुने गरेको यात्रुहरु बताउँछन् । सदरमुकाम खाँदबारीबाट धुपू हुँदै बाह्रबिसे जाने सडक यति बेला भैंसी खेल्ने आहाल जस्तै बनेको छ । अविरल बर्षाका कारण ग्रामीण भेगका सडकहरुमा ठुलाठुला खाल्डाखुल्डी हुने र पानी जमेर आहाल जस्तै भएको कारण यातायातका सवारी साधन सञ्चालन गर्न निकै समस्या परेको ट्याक्सी चालकहरुले बताएका छन् । ग्रामीण सडकहरु आहाल जस्तै बनेको कारण सदरमुकाम खाँदबारी जाने र आउने यात्रुहरू पैदल हिँडन बाध्य छन् ।

Comments