गोपालदास पत्रकारिता पुरस्कार र विशिष्ट पत्रकारको रुपमा सूचिकृतका लागि ३ जनाको नाम सिफारिस

६ भदौ, बिर्तामोड। गोपालदास पत्रकारिता पुरस्कार र विशिष्ट पत्रकारको रुपमा सूचिकृतका लागि झापाका तीनजना अग्रज पत्रकारको नाम सिफारिस गर्ने निर्णय भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको दमकमा सम्पन्न सातौं वैठकले अग्रज पत्रकारहरु नकुल काजी, गोविन्द चन्द क्षेत्री र मदन ढकालको नाम प्रेस काउन्सील नेपाललाई सिफारिस गर्ने निर्णय भएको पत्रकार महासंघका सचिव एकराज गिरीले जानकारी दिए । महासंघ शाखाका अध्यक्ष भीम नेम्बाङको अध्यक्षतामा बसेको वैठकले उक्त निर्णय गरेको हो । प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अक्षयकोष समितिले गोपालदास पत्रकारिता पुरस्कार प्रदान गर्ने सन्दर्भमा ४० वर्ष पत्रकारिता गरी पत्रकारिता क्षेत्रमा विशेष योगदान पुर्‍याएका र ६५ वर्ष उमेर पुगेका विशिष्ट पत्रकारहरुको सूची तयार गर्ने प्रयोजनका लागि महासंघलाई पत्राचार गरेको थियो । उक्त दुईवटै मापदण्ड पूरा झापाका तीनजना अग्रज पत्रकारको नाम प्रेस काउन्सील नेपाललाई सिफारिस गर्ने र सो को बोधार्थ नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई दिने निर्णय भएको छ । महासंघले भदौ १४ गते शनिबार विहान ठीक ११ बजेदेखि महासंघको कार्यालय बिर्तामोडमा पत्रकारिता अनुभव आदान प्रदान अन्तरक्रिया गर्ने निर्णय गरेको छ । अन्तरक्रियाको सहजीकरण भर्खरै बेलायतबाट पत्रकारिता प्रशिक्षण लिई फर्केका पत्रकार गोपाल गड्तौलाले गर्नेछन् ।

Comments