दलित परिवारलाई कुटपिट गर्ने तीन पक्राउ

नरेन्द्र बस्नेत, ३ भदौ, मोरङ। अन्तरजातीय बिवाह गरेको बिषयमा दलित परिवारमाथि जातीय गाली गलौज र कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर उपमहानरपालिका ५ गोकुल टोल बस्ने केशव मगरातीको परिवारलाई मध्यराति घरमै पुगेर जातिय गाली गलौज गर्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका भिमप्रसाद खतिवडा, बाबुराम न्यौपानेसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता नायब उपरिक्षक प्रभुप्रसाद ढकालका अनुसार केशव मगरातीका २४ बर्षिय छोरा सुमन मगराती र भिमप्रसादकी २० बर्षिया छोरी उर्मिला खतिवडा गाउँबाट हराएका थिए । सोही बिषयलाई लिएर केटी पक्षले सानो जात भएर ठूलो जातकी छोरी बिहे गर्न खोजेको भन्दै मगराती परिवारलाई भदौ १ गते राति ११ बजे घरमै पुगेर गाली गलौज गर्दै कुटपिट गरेका थिए । उमेर पुगेका केटाकेटीहरु राजीखुसी बिवाह गरी अदालतमा नाता समेत कायम गराइसकेपछि केटी पक्षले दलित भएकै कारण आफुहरुलाई कुटपिट गरेको भन्दै जातिय बिभेद र कुटपिट अपराधमा प्रहरीमा भदौ २ गते सोमबार किटानी जाहेरी दिएका थिए । प्रहरीले घटना मिलापत्र गराउन दबाब दिइरहेको तर आफुहरुले कानुन अनुसार कार्बाहीको माग गरेको पिडित बताउने केशव मगरातीले बताएका छन् ।

Comments