फाल्गुनन्द मार्गका लागि पहल गर्छु - अध्यक्ष पाण्डे

६ भदौ, दमक। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजङ्ग पाण्डेले ३ वर्षभित्रमा विद्युत संकट अन्त्य गर्ने बताएका छन् । विद्युत संकटका कारण अहिले उद्योग क्षेत्र चौपट बनेको भन्दै ३ वर्षभित्रमा मुलुकलाई लोडसेडिङमुक्त बनाउन निजी क्षेत्र लागिपरेको बताए। उनले भने, 'लोडसेडिङको अन्त्य विना मुलुक समृद्ध हुन सक्दैन।' शुक्रवार दमक उद्योग वाणिज्य संघको २४ औं स्थापना दिवस तथा २३ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष पाण्डेले विद्युत संकटको अन्त्यका लागि निजी क्षेत्रले नयाँ विद्युत योजना अघिसारेको बताए। उद्योग व्यवसाय क्षेत्र समृद्ध बन्न सकेमात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने भएकाले उद्योग व्यवसाय मैत्री वातावरण निर्माणमा राज्य र सरोकारवाला सबै पक्षले भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । पूर्वको मुख्य व्यावसायिक स्थल बन्ने सम्भावना बोकेको दमकको विकासका लागि महासंघले आवश्यक सहयोग पुर्‍याउने अध्यक्ष पाण्डेले बताए। 'यहाँ धरै संभावना छन्, यसको विकासमा सवै लाग्नुपर्छ', अध्यक्ष पाण्डेको भनाई थियो । दमक-चिसापानी सडक (फाल्गुनन्द मार्ग) को निर्माण सम्पन्न भएमा दमक क्षेत्रको व्यावसायिक समृद्धि हुने भन्दै उनले सरकारले यो वर्ष छुट्टिएको बजेटबाट समयमै कार्य सम्पन्न गराउन सम्बद्ध निकायहरुमा पहल गर्ने आश्वासन दिए । महासंघले सञ्चालन गरेका देशभरिका इलम प्रशिक्षण केन्द्रहरु निष्कृय रहेकाले उनले यसको दिगो ब्यवस्थापनका लागि आवश्यक पहल गरिरहेको बताएका थिए । कार्यक्रममा महासंघका नगर जिल्ला उपाध्यक्ष किशोर प्रधानले भरपर्दो औद्योगिक सुरक्षा कायम गर्न राज्यले ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रममा केन्द्रीय सदस्य रोहित प्रसाईं, दमक नगरपालिकाका कार्यकारी अधिकृत नुरहरि खतिवडा, रेडक्रस दमकका सभापति लिला गुरागाई, व्यवसायीहरु राजेन्द्र ढकाल, विक्रमकुमार शाह लगायतले बोलेका थिए । सोही अवसरमा संघले दमक क्षेत्रमा क्रियाशिल पत्रकार विष्णु सुब्बा र व्यवसायी विरेन्द्र स्टोरका प्रोप्राइटर विरेन्द्र शर्मालाई पुरस्कृत गरेको छ । यस्तै दमक पव्लिक लाइब्रेरीलाई महासंघका उपाध्यक्ष प्रधानले पुस्तक प्रदान गरेका थिए । लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेलाई पुस्तक हस्तान्तरण गरिएको थियो । देशका विभिन्न स्थानमा गएको वाढी पहिरोबाट पिडितलाई राहत स्वरुप संकलित ५१ हजार रुपैयाँ दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईंले महासंघका अध्यक्षलाई हस्तान्तरण गरेका थिए । तस्वीर - कार्यक्रममा सम्बोधन गर्दै महासंघका अध्यक्ष पाण्डे।

Comments